लम्कीचुहा अस्पताल स्तरोन्नति मेयरकै सिफारिसमा गरिएको हो : मन्त्री मेघराज खड्का

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का ले स्थानीय तह मातहत रहेको लम्कीचुहा अस्पताल लाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णय वर्तमान मेयर शुशिला शाही कै सिफारिसका आधारमा गरिएको स्पष्ट पारेका छन्।

बिहीबार सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरी ४ करोड ८७ लाख रुपैयाँ बजेटसमेत विनियोजन भइसकेकाले अब यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए। उनले प्रादेशिक अस्पताल सञ्चालन प्रक्रियामा कुनै अवरोध नगर्न आग्रह गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको पहिलो दायित्व भएको बताए।

Navadurga sun
Godawari sandesh

मन्त्री खड्काका अनुसार लम्कीचुहा अस्पताललाई प्रदेश सरकारअन्तर्गत ल्याउने निर्णय संघीय सरकारको स्वीकृतिअनुसार गरिएको हो। उनले विशेषज्ञ सेवा विस्तार गर्ने उद्देश्यसहित २०८१ असोज १७ गते अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरिएको र २०८२ जेठ २६ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकबाट औपचारिक स्वीकृति प्राप्त भएको जानकारी दिए।

Dadeldhura hospital

अस्पताल सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रदेश सरकारले व्यवस्थापन समिति गठन गरिसकेको भन्दै उनले यसका लागि लम्कीचुहा नगरपालिका लाई तीन पटकसम्म औपचारिक पत्राचार गरिएको भए पनि नगरपालिकाबाट अपेक्षित चासो नदिइएको आरोप लगाए।

मन्त्री खड्काले अस्पतालको सेवा विस्तार, व्यवस्थापन तथा पूर्वाधार विकासका लागि छुट्याइएको ४ करोड ८७ लाख रुपैयाँ अस्पताललाई सुविधा सम्पन्न र गुणस्तरीय प्रादेशिक स्वास्थ्य संस्थाका रूपमा विकास गर्न खर्च गरिने बताए। पत्रकार सम्मेलनमा उनले मेयर शुशिला शाहीले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष स्वयं बन्न चाहेको दाबी पनि गरे। तर त्यस्तो व्यवस्था कानुनी मापदण्डअनुसार सम्भव नभएकाले योग्यता र निर्धारित प्रक्रियाका आधारमा बाहिरबाट व्यवस्थापन समिति चयन गरिएको उनको भनाइ थियो।

मन्त्री खड्काले लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रस्ताव स्वयं नगरपालिकाकै मागअनुसार अघि बढाइएको दाबी गर्दै नगरपालिकाकै आग्रहका आधारमा अस्पताललाई उक्त हैसियत प्रदान गरिएको स्पष्ट पारे। उनले कानुनको दायराभित्र रहेर अस्पताल सञ्चालनका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै व्यक्तिगत इच्छा वा पदको आकांक्षाका कारण सर्वसाधारण नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने बताए।

उनले आम नागरिकको आवश्यकता र मागलाई केन्द्रमा राखेर लम्कीचुहा अस्पताललाई थप विस्तार गर्दै सुविधा सम्पन्न र गुणस्तरीय प्रादेशिक अस्पतालका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे।

Loading...