बाजुरामा हावाहुरी, वर्षा–पहिरो र चट्याङको कहर: १६ भेडाबाख्रा मरे, ३८ बेपत्ता

बाजुरा- बाजुरामा मङ्गलबार साँझ आएको हावाहुरीसहित वर्षा, पहिरो र चट्याङका कारण ठूलो क्षति भएको छ। घटनामा १६ वटा भेडाबाख्रा मरेका छन् भने ३८ वटा बेपत्ता भएका छन्।

जिल्लाको जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनी क्षेत्रमा वनमा चराउन लगिएका चौपाया घर फर्काउने क्रममा अचानक आएको वर्षासँगै पहिरो र चट्याङ पर्दा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

Navadurga sun

प्रहरीका अनुसार स्थानीय चैनबहादुर विष्टका २ वटा भेडा मरेका र ९ वटा बेपत्ता भएका छन् भने अमृत ल्वारका ३ वटा भेडा मरेका र १४ वटा हराइरहेका छन्। त्यसैगरी अन्य किसानका ५ वटा भेडाबाख्रा मरेका र १० वटा बेपत्ता छन् भने ऐनबहादुर विष्टका ३ वटा मरेका र ५ वटा हराएका छन्।

यस्तै, त्रिवेणी नगरपालिका–९ पैमा स्थित खोया लेकमा कुलबहादुर साउदको गोठमा चट्याङ लाग्दा ३ वटा भेडाबाख्रा मरेका छन्।

हुरीबतासले खप्तड छेडेदह गाउँपालिका–१ काँडामा स्थानीय वीरे रावलको काठ र जस्तापाताले बनेको पसल उडाएर क्षति पुर्‍याएको छ। पसलभित्र रहेका लत्ताकपडा र सिलाउने मेसिनमा समेत नोक्सानी भएको प्रहरीले जनाएको छ।

प्रहरी चौकीहरूबाट टोली खटिएर क्षतिको विवरण सङ्कलन भइरहेको छ। साथै, असिनापानीसहितको वर्षाका कारण पाकेको गहुँ बालीमा पनि क्षति पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...