


बाजुरा- बाजुराका दुर्गम गाउँबस्तीहरूमा रोजगारीको अभाव गहिरिँदै जाँदा पछिल्लो समय महिलाहरू पनि ठूलो संख्यामा घर छोडेर भारत जान थालेका छन् । पहिले पुरुष मात्र परदेश जाने र महिलाले घरपरिवार सम्हाल्ने परम्परा थियो। तर परिवारको खर्च बढ्दै जाँदा र एक्लो कमाइले घर चलाउन नसक्ने अवस्था आएपछि अहिले श्रीमान्–श्रीमती दुवै जना सँगै भारत गएर काम गर्ने क्रम बढेको हो ।


बुढीगङ्गा नगरपालिका–१० की दीपा साउँदका अनुसार पहिले आफू घरमै बसेर श्रीमान्ले पठाएको पैसाले घर चलाउने गर्थिन् । “परिवार बढ्दै गयो, खर्च पनि बढ्यो । उहाँको कमाइ मात्रले धान्न गाह्रो भएपछि म पनि सँगै काम खोज्न भारत जान लागेकी हुँ,” उनले भनिन् । पछिल्लो समय श्रीमान्ले आवश्यकता अनुसार पैसा नपठाउने समस्या देखिन थालेपछि महिलाहरू पनि आफैं कमाउन बाध्य भएको उनको भनाइ छ ।



अहिले बाजुराका धेरै परिवारमा सासू–ससुराको जिम्मा छोराछोरी छोडेर दुवै जना दम्पती भारतमा काम गर्न जाने गरेका छन् । उतैबाट कमाएको पैसा घर पठाउँदा परिवार पाल्न केही सहज भएको स्थानीय बताउँछन् । जिल्लाका बुढीगङ्गा, त्रिवेणी, खप्तड, छेडेदह, गौमूल, बडीमालिका, हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ र बुढीनन्दा गाउँपालिकाका महिलाहरू रोजगारीका लागि भारत जाने क्रम बढ्दो छ ।
यससँगै गाउँमा खेतीपातीप्रतिको चासो घट्दै गएको छ । पहिले कात्तिक–मंसिरमा गहुँ र असारमा धान, कोदो रोप्न गाउँ फर्किने चलन भए पनि अहिले चाडपर्वमा मात्र गाउँ आउने र फेरि भारत फर्किने प्रवृत्ति बढेको छ । प्रशस्त खेतीयोग्य जमिन हुँदाहुँदै पनि युवा पुस्ताले खेती नगर्दा जमिन बाँझो हुँदै गएको छ ।
स्थानीयका अनुसार गाउँमै रोजगारीका सम्भावना भए पनि त्यसको उचित व्यवस्थापन हुन सकेको छैन । विकास निर्माणका काममा पनि ठेकेदारले बाहिरका कामदार ल्याउँदा स्थानीय युवाहरू बेरोजगार बस्नुपरेको गुनासो छ । बुढीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष रणबहादुर थापाले गाउँमै युवालाई रोक्ने खालको रोजगारी सिर्जना गर्न नसक्दा भारत जाने बाध्यता बढेको बताए ।
आर्थिक अवस्था कमजोर हुनु र सरकारी स्तरबाट प्रभावकारी रोजगारी कार्यक्रम नआउनुले बाजुराका गाउँबस्तीहरू क्रमशः खाली हुँदै गएका छन् । स्थानीय तह र राज्यले गाउँमै रोजगारी र उत्पादनमुखी कार्यक्रम ल्याउन नसके यो समस्या अझै जटिल बन्दै जाने देखिन्छ ।





