

अत्तरिया- कैलालीको गेटामा स्थापना हुन लागेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि तेस्रो पटक आवेदन आह्वान गरिएको छ । दुई पटकसम्म दरखास्त आह्वान गर्दा पनि योग्य तथा इच्छुक उम्मेदवार नपाएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुनः आवेदन माग गरेको हो ।



मन्त्रालयले पहिलो पटक कात्तिक १६ गते १५ दिनको म्याद तोकेर उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको थियो । उक्त अवधिमा कुनै पनि आवेदन नपरेपछि पाँच दिनको म्याद तोकेर दोस्रो पटक आवेदन आह्वान गरिएको थियो । दोस्रो चरणको आवेदन अवधि मङ्सिर ५ गते (शुक्रबार) सकिएको थियो ।


विश्वविद्यालय सञ्चालन प्रक्रिया अघि बढाउन यस अवधिसम्म उपकुलपति नियुक्त भइसकेर कार्यस्थलमा पुगिसक्नुपर्ने भए पनि हालसम्म उपकुलपति नियुक्त हुन सकेको छैन । त्यसैकारण मन्त्रालयले तेस्रो पटक आवेदन आह्वान गर्नुपरेको जनाएको छ ।
यसपटक पनि योग्य उम्मेदवारले आवेदन दिन्छन् कि दिँदैनन् भन्ने विषयमा मन्त्रालयले शङ्का व्यक्त गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले समेत केही समयअघि दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि उपकुलपति नपाउँदा समस्या भएको सार्वजनिक रूपमा बताएका थिए ।

