धनगढी- आगामी मंसिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव २०८२ सञ्चालन हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघले आइतबार धनगढीमा पत्रकार सम्मेलन गरी महोत्सवको १९औं संस्करणबारे जानकारी दिएको हो ।



संघका अध्यक्ष पुष्कर राज ओझाका अनुसार सुदूरपश्चिमको कला, संस्कृति, परम्परा, खानपान र कृषिको प्रवर्द्धन गर्नुका साथै व्यापारिक गतिविधि विस्तार गर्ने महोत्सवको उद्देश्य रहेको छ। उनले महोत्सवले स्थानीय उत्पादन, हस्तकला, कृषि उपज, उद्यमशीलता र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए।


उनका अनुसार यस वर्षको महोत्सवमा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति, कृषि तथा उद्योग प्रदर्शनी, महिला तथा युवाका उद्यम स्टल, विविध प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम रहनेछन्। साथै बालबालिकाका लागि खेलकुद क्षेत्र, कृषि प्रविधि प्रदर्शन र घरेलु उत्पादनहरूको बिक्री समेत हुने जनाइएको छ।

संघले महोत्सवलाई “समृद्ध सुदुरपस्चिमका लागी आर्थिक समृद्धि ” भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको हो। महोत्सव धनगढी उपमहानगरपालिका १ पशुपति टोलमा सञ्चालन हुनेछ । महोत्सवमा सुदूरपश्चिमका सातवटै जिल्लाका व्यापारी, उद्योगी, कृषक तथा सांस्कृतिक समूहहरूको सहभागिता रहने उनले बताए।
उनले महोत्सवले प्रदेशकै आर्थिक, सामाजिक र सांस्कृतिक एकता सुदृढ गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे। महोत्सवमा कृषि, उद्योग, हस्तकला, सूचना प्रविधि, इलेक्ट्रोनिक्स, होटल तथा घरेलु उत्पादनसम्बन्धी ५०० भन्दा बढी स्टलहरू रहनेछन्। तीमध्ये स्थानीय उत्पादन र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न १५ र कृषिका लागि ४० सहित ५० वटा स्टल निःशुल्क उपलब्ध गराइनेछ।
संघका अनुसार बालबालिका, युवा र परिवारका लागि विशेष मनोरञ्जनात्मक कार्यक्रम, खेलकुद गतिविधि तथा सांस्कृतिक प्रस्तुति महोत्सवको मुख्य आकर्षण हुनेछन्। सामान्य दर्शकका लागि प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ भने विद्यार्थी र खेलाडीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।
७० वर्षमाथिका जेष्ठ नागरिक र अपाङ्ग व्यक्तिहरूका लागि भने प्रवेश निःशुल्क रहनेछ। अध्यक्ष ओझाले सुदूरपश्चिमको आर्थिक, सामाजिक र सांस्कृतिक सम्भावनालाई देश–विदेशमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। “महोत्सवले प्रदेशको पर्यटन, कृषि र उद्योग क्षेत्रमा नयाँ लगानी र अवसर ल्याउने विश्वास लिइएको छ,” उनले भने। गत वर्ष झैँ यो पटक पनि लाखौँ दर्शक तथा उपभोक्ताको सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ।




