बाजुराको काँडावासीले फोन गर्न डाँडा धाउनुपर्ने

बाजुरा- बाजुराको खप्तड छेडेदह गाउँपालिका–१ काँडाका बासिन्दा अहिले पनि फोन गर्न अग्लो डाँडा धाउन बाध्य छन्। जिल्लाका अन्य अधिकांश क्षेत्रमा फोरजी सेवा सुचारु भए पनि काँडा र जयवाग्यश्वरी क्षेत्रमा अझै फोन राम्रोसँग लाग्दैन।

फोन सिग्नल कमजोर भएकाले स्थानीयका आफन्तले बाहिरबाट फोन गर्दा उनीहरू कुराकानी गर्न डाँडामाथि पुग्ने गर्छन्। घाम लागेको बेला अलि–अलि फोन लाग्ने तर पानी परेको बेला सेवा पूर्ण रूपमा बन्द हुने गरेको वडा नम्बर–१ का अध्यक्ष वीरबहादुर रावल बताउँछन्।

Navadurga sun

“अहिले वडामा अधिकाशं काम अनलाइनमार्फत गर्नुपर्ने हुन्छ, तर यहाँ वाईफाई त टाढाको कुरा भयो, फोन गर्नकै लागि पनि अग्लो डाँडामा जानुपर्छ,” उनले भने।

उनका अनुसार कार्यालयमा विद्युत् सेवा सुचारु भए पनि गाउँ नजिक टेलिकमको टावर नहुँदा सेवा प्रवाहमा समस्या परेको छ। अनलाइनमार्फत हुने सेवा दिन नसक्दा वडा कार्यालयमा आउने सेवाग्राहीलाई असुविधा भइरहेको छ।

खप्तड छेडेदह गाउँपालिकाका ७ वडामध्ये वडा नं. १ काँडा र वडा नं. २ जयवाग्यश्वरी दुवै क्षेत्रमा यस्तै समस्या रहेको अध्यक्ष रावलले बताए। जयवाग्यश्वरीमा पनि फोन सिग्नल कमजोर छ—कहिलेकाहीँ लागे पनि एक–दुई मिनेटमै फोन काटिन्छ।

हाल काँडाका अधिकांश ठाउँमा त्रिवेणी नगरपालिका–४ तोलीमा रहेको नेपाल टेलिकमको टावरको सिग्नल चलिरहेको छ। तर त्यो टावर झण्डै ३५ किलोमिटर टाढा भएकाले सिग्नल कमजोर हुने गरेको स्थानीय पुरन रावलले बताए। उनका अनुसार काँडाका धौलछडामाथि नयाँ टावर स्थापना गर्न सके समस्या समाधान हुने छ।

वडा नं. १ काँडामा झण्डै ४,८०० जना र वडा नं. २ जयवाग्यश्वरीमा करिब २,८६४ जना जनसंख्या छ। दुबै वडाका बासिन्दा लामो समयदेखि दूरसञ्चार समस्याबाट पीडित छन्।

नेपाल टेलिकम बाजुरा शाखाका प्रमुख ईश्वर सिंहले यो समस्या पुरानै भएको बताउँदै भने, “गाउँपालिकाले टावर थप गर्नका लागि औपचारिक निवेदन दिनुपर्छ। त्यसपछि हामी डडेल्धुरा वा अत्तरियामा सिफारिस पठाउँछौं र त्यसपछि सर्भे गरी नयाँ टावर स्थापना गर्ने प्रक्रिया अघि बढ्छ।”

ADD Khali jpg
ADD Khali jpg
Loading...