काठमाडौँ- नेपालमा जापानिज इन्सेफलाइटिस (JE) को सङ्क्रमण तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार, वैशाखयता १६० जनामा जेइ सङ्क्रमण पुष्टि भएको छ भने ३० जनाको मृत्यु भइसकेको छ।



स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. अभियान गौतमले भने, “नेपालमा जेइ सङ्क्रमण र मृत्युदर दुवै बढ्दै गएको छ। अघिल्ला वर्षको तुलनामा यस वर्ष मृत्युदर उच्च देखिएको छ।”



पछिल्लो आँकडाअनुसार, जेइ हालसम्म ४१ जिल्लामा फैलिसकेको छ। यस वर्ष विशेष गरी लुम्बिनी, मधेस, कोशी, गण्डकी र बागमती प्रदेश बढी प्रभावित भएका छन्। अघिल्लो वर्ष ८० जना सङ्क्रमित हुँदा २५ जनाको मृत्यु भएको थियो। यस वर्ष भने सङ्क्रमण पूर्वी नेपालबाट फैलिएको र बिस्तारै पश्चिमी भागसम्म पुगेको छ।
डाक्टर गौतमका अनुसार, जेइ प्रायः धानखेत र सुँगुर फार्म नजिक बसोबास गर्ने व्यक्तिहरूमा बढी देखिएको छ। गम्भीर बिरामीमध्ये एक तिहाइको मृत्यु हुने सम्भावना रहेको छ भने जीवित रहनेमध्ये केहीमा स्थायी अपाङ्गता पनि हुन सक्छ। यसमा अंग नचल्नु, स्वाद नथाहा पाउनु, मुख बांगिनेजस्ता समस्या पर्न सक्ने उल्लेख गरिएको छ।
जेइ ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। यी लामखुट्टे प्रायः घाम उदाउँदा र अस्ताउँदा तथा राति सक्रिय हुने गर्छन्। स्वास्थ्यकर्मीहरूले व्यक्तिहरूलाई लामखुट्टेको टोकाइबाट बच्न तथा खोप लगाउन सुझाव दिएका छन्।




