


कैलाली- गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गरिएको तोडफोड र आगजनीबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा झण्डै १० करोड बराबरको क्षति भएको छ ।


मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सूचना अधिकारी जगदीश जोशीका अनुसार आगजनी र तोडफोडबाट रु नौ करोड ७४ लाख ५१ हजारको क्षति भएको हो ।



मुख्यमन्त्री कार्यालय परिसरमा राखिएका सातवटा चारपाङ्ग्रे सवारीसाधन, १३ सरकारी मोटरसाइकल र तीनवटा स्कुटर जलेर नष्ट भएको उनले बताए ।आगजनीबाट भवनको दोस्रो तलामा रहेको मुख्यमन्त्रीको कार्यकक्ष पूर्ण रूपमा नष्ट भएको छ । साथै लेखा सम्बन्धी कागजात र तेस्रो तलामा रहेका प्रशासनका केही कागजात मात्र जोगिएका छन् ।
मुख्यमन्त्री कार्यालयमा टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टर, टेलिभिजन, दराज, सोफा, भवनका झ्याल, ढोका, कार्पेट, मार्बल लगायत सबै सामान नष्ट भएको उनले बताए । आन्दोलनका क्रममा केही सामान चोरीसमेत भएको बताइएको छ ।
मुख्यमन्त्री कार्यालयले तयार पारेको क्षतिको विवरणअनुसार कार्यालय र निवासमा रहेका भाँडाकुँडासमेत नभेटिएको जनाइएको छ। आन्दोलनका क्रममा धनगढीमा रहेका अधिकांश सरकारी कार्यालय आगजनी गरिएको थियो।
जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले सुदूरपश्चिम प्रदेश सभा भवन तहसनहस भएको छ । प्रदेश सभाको बैठक सञ्चालन हुने बैठक कक्षका टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटप, डिजिटल क्यामरा, भिडियो क्यामरा, फोटोकपी मेसिन प्रिन्टर, एसी लगायत सामान जलेर नष्ट भएका छन्, हल खण्डहर बनेको छ ।





