

कञ्चनपुर- भीमदत्त नगरपालिका–१२ निवासी उत्तम सुनारले गँड्यौला मल उत्पादन गरेर कम लगानीमा उल्लेख्य आम्दानी गर्न सफल भएका छन्। सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत सुनारले इन्टरनेटमार्फत जानकारी हासिल गरी दुई वर्षअघि व्यवसाय सुरु गरेका थिए।


“पढाइसँगै केही गरेर आम्दानी गर्ने सोच आयो। त्यसपछि इन्टरनेटमा खोज्दा गँड्यौला मल उत्पादन कम लगानीमा बढी आम्दानी हुने देखेँ,” सुनारले भने।


सुनारले करिब रु. ४ लाख लगानीमा सुरुमा चारवटा ब्याडमार्फत मल उत्पादन थाले। प्रारम्भिक सफलता पाएपछि व्यवसाय विस्तार गर्दै अहिले २५ वटा ब्याडमार्फत उत्पादन गर्दै आएका छन्।
उनले भने, “माग धेरै हुन थालेपछि ब्याड थप्दै गएको छु। तर अहिले पनि बजारको माग धान्न नसकिएको अवस्था छ।”

सुनारका अनुसार उनले मासिक करिब रु. १ लाख ५० हजार बराबरको मल बिक्री गर्ने गरेका छन्। यस दरले बिक्री भए वार्षिक आम्दानी सात लाख रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ। हालसम्म उनले तीन महिनामा ४८ क्विन्टलभन्दा बढी मल बिक्री गरिसकेका छन्।
गँड्यौला मल प्रतिकिलो रु. २५ का दरले बिक्री हुन्छ। स्थानीय बजारसँगै कैलालीसम्म उनले मल आपूर्ति गर्दै आएका छन्। माग उच्च भएकाले जुल्लासम्म पनि आपूर्ति गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
तरकारीखेती, बगरखेती र बेमौसमीखेती गर्ने किसानले हाल गँड्यौला मललाई प्राथमिकताका साथ प्रयोग गर्ने गरेका छन्। रासायनिक मलको विकल्पका रूपमा यसको प्रयोग बढ्दो क्रममा रहेको सुनारले बताए।
विशेषज्ञका अनुसार गँड्यौला मलले माटोको उर्वराशक्ति बढाउँछ, कम लागतमै उत्पादनमा वृद्धि गर्छ र मानव स्वास्थ्य तथा वातावरणमैत्री हुन्छ। यस मलमा एन्टिबायोटिक, भिटामिन र हर्मोन पाइने भएकाले अरू मलभन्दा बढी गुणस्तरीय मानिन्छ।
सामान्य माटोमा पाइने भन्दा यो मलमा नाइट्रोजन पाँच गुणा, फस्फोरस सात गुणा र पोटास ११ गुणासम्म बढी पाइने भएकाले खेतीबालीका लागि अत्यन्त उपयोगी मानिन्छ।
सुनारले बजारको बढ्दो मागलाई ध्यानमा राख्दै मल उत्पादन अझै बढाउने योजना बनाएका छन्। उनले भने, “अहिलेको उत्पादनले माग धान्न सकिँदैन, त्यसैले मल उत्पादन विस्तार गर्ने सोच बनाएको छु।”

