लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा हालसालै बनेका कालोपत्रे सडकहरूको गुणस्तरप्रति गम्भीर प्रश्न उठ्न थालेको छ। विशेषगरी वार्ड नं. ४ मा बनेका सडकहरू एक वर्ष नबित्दै खाल्टोमा परिणत भएपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।

स्थानीयले ठेकेदारले गुणस्तरहीन काम गरेको आरोप लगाउँदै नगरपालिकाले पनि यसतर्फ बेवास्ता गरेको बताएका छन् । “ठेकेदारले पैसा खानकै लागि काम गरेको हो । गुणस्तर जाँच गर्ने निकायले पनि आँखा चिम्लेर पास गरेको देखिन्छ,” एक स्थानीयले भने ।


गोदावरीको वार्ड नं. ४ मात्र नभई अन्य वडामा पनि यस्तै समस्या देखिएको जनाइएको छ । सडक गुणस्तर जाँच गर्ने निकाय र प्राविधिकहरूले घूस खाएर काम पास गरिदिएको आशंका जनाइएको छ ।
यसैबीच, स्थानीयले गुणस्तरहीन सडक निर्माणमा संलग्न ठेकेदारलाई कारबाही गर्न माग गरेका छन् । उनीहरूले राजनीतिक दल र जनप्रतिनिधिलाई पनि जिम्मेवार ठहर गरेका छन् । “भोट माग्दा जनताको प्रतिनिधि बन्ने, तर काम गर्दा नाफाखोरसँग मिल्ने प्रवृत्ति अब बन्द हुनुपर्छ,” स्थानीयवासीको भनाइ छ ।
विशेषज्ञहरूका अनुसार सर्वसाधारणलाई सडकको गुणस्तर छुट्याउन गाह्रो हुने भएकाले परीक्षण गर्ने निकाय अझ जिम्मेवार र पारदर्शी बन्न जरुरी छ ।
