


अत्तरिया- व्यवसायिक तथा सीप विकास तालिम केन्द्र धनगढी कैलाली र प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी कैलालीको सहकार्यमा सञ्चालित १५ दिने बेसिक स्पा तथा वेलनेस थेरापी तालिम शनिबार एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको छ ।





प्रादेशिक आयुर्वेद चिकित्सालय परिसरमा आयोजित समापन कार्यक्रममा मेडिकल सुपरिटेण्डेण्ट राम कामेश्वर ठाकुरको अध्यक्षता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा. हेमराज रेग्मी रहनु भएको थियो ।

सो अवसरमा प्रमुख अतिथि डा. रेग्मीले आयुर्वेद तथा प्राकृतिक उपचार पद्धतिमा आधारित थेरापी र स्पा सेवा वर्तमान समयमा अत्यन्तै उपयोगी बन्दै गएको उल्लेख गर्दै यसप्रकारका तालिमहरूले स्थानीयस्तरमा स्वरोजगार तथा सीप विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि तालिम केन्द्रका केन्द्र प्रमुख भुवनराज पन्तले सहभागीहरूलाई प्राप्त ज्ञान व्यवहारमा उतार्न र आत्मनिर्भर बन्न सुझाव दिनुभयो । उहाँले तालिमको प्रभावकारिता बढाउन निरन्तर मूल्यांकन र सुधार आवश्यक रहेको बताउनुभयो।
कार्यक्रम सञ्चालन वरिष्ठ कविराज निरीक्षक राजेन्द्र प्रसाद कुशवाहाले गर्नुभएको थियो ।
तालिममा विभिन्न वेलनेस थेरापी विधि, स्पा सेवा प्रक्रिया, मानव शरीर रचना तथा मालिस प्रविधि लगायतका विषयहरूमा प्रशिक्षण दिइएको थियो । तालिममा ५ जना पुरुष र १५ जना महिला गरी जम्मा २० जना सहभागी रहेका थिए ।





