सुर्खेतमा श्रीमानले गरे श्रीमतीको हत्या

सुर्खेत- सुर्खेतमा एक युवकले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नेपाली सेनाको वीरदल गण, पाँचथरमा पिउठ पदमा कार्यरत २८ वर्षीय दर्शन खत्रीले २६ वर्षीया श्रीमती प्रेम ओली खत्रीको हत्या गरेका प्रहरीले जनाएको छ ।

प्रेमाको मोबाइलमा अर्कै पुरूषको तस्बिर देखेपछि उनको हत्या गरेको खुलेको पनि प्रहरीले बताएको छ । शनिबार दर्शनले प्रेमालाई छिन्चुमा बोलाएका थिए । उनले साथी मार्फत सामान पठाइदिएको र आफू गएर लिन भनेका थिए ।

प्रेमा गुर्भाकोट नगरपालिका–५ थक्लेनीमा ५ वर्षीया छोरीसहित बस्थिन् । उनको माइती घर पनि सोही वडाको तोरीबारी हो । सात वर्ष पहिले उनीहरूको प्रेम विवाह भएको थियो । पछिल्लो समय भने उनीहरूबीच राम्रो सम्बन्ध नभएको र झैझगडा परिरहने खुलेको छ । एकअर्का माथि शंका गर्ने उनीहरूबीच सम्बन्ध बिच्छेद गर्नेसम्मको कुरा चलेको थियो ।

त्यसैले दसैंमा बिदायता दर्शन घर आएका थिएनन् । तर सामान लिन जानू भनेपछि प्रेमा भेरीगंगा नगरपालिका–१२ छिन्चुमा शनिबार साँझपख पुगेकी थिइन् ।
एकाएक श्रीमानलाई देखेपछि प्रेमाले अचम्म मान्दै किन झुट बोलेको भनेर सोधिन्। दर्शनले सहज जबाफ दिए – सरप्राइज दिन ।
उनीहरूको भेट साँझ करिब साढे ६ बजेतिर भएको हुन्छ । भेटपछि उनीहरू केही बेर गफिँदै हिँड्छन् । केही बेरमै विवाद सुरू हुन्छ । प्रेमा वीरेन्द्रनगरतर्फ हिँड्न थाल्छिन् । भनाभन गर्दै दुवै झिगेनारा खोलाको पुल तरेर उत्तर–पूर्वको रामजानकी सामुदायिक वनतर्फ लाग्छन् ।

सुर्खेतका प्रहरी प्रमुख एसपी रूपेश खड्काका अनुसार आधा घन्टा जति पैदल हिँडेपछि उनीहरू बाटोमा बसेर विवाद गर्न थाल्छन् । त्यहीबीच दर्शनले प्रेमाको मोबाइल खोस्छन् । मोबाइलमा अर्कै पुरूषको तस्बिर देखेपछि यो को हो भन्दै सोधखोज गर्छन् ।

प्रेमाले पनि दर्शनलाई विभिन्न महिलासँगको सम्बन्धबारे कुरा झिक्छिन्। आवेगमा आएर दर्शनले नजिकैको ढुंगा उठाएर प्रेमाको टाउकोमा प्रहार गर्छन् । प्रेमा भुइँमा ढल्छिन्। दर्शन पाँच मिनेटसम्म पर्खिन्छन् । प्रेमा हलचल नगरेपछि मरेको सुनिश्चित गर्छन् । अनि उनकै सलले घाँटीमा कसेर घिसार्दै केही पर पुर्‍याउँछन् र पानी भएको खाडलमा फालिदिन्छन् ।

झुन्डिएर आत्महत्या गरेको जस्तो देखाउन प्रेमाको घाँटीमा सलले कसेर घिसार्दै पानीमा फालिदिएको बयान दर्शनले प्रहरीसमक्ष गरेको एसपी खड्काले बताए । प्रहरीले घुँडासम्म पानी भएको खाडलमा आइतबार प्रेमाको शव फेला पारेको थियो ।

सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी मोहनजंग वड थापाका अनुसार प्रेमा तीन–चार दिनअघि नै घरबाट निस्किएकी थिइन् । उनले फेसबुकमा अर्कै युवकको फोटो राखेको देखेपछि दर्शन हत्या योजनाका साथ घर बिदामा आएको अनुमान प्रहरीले गरेको छ । मोबाइलमा अर्कै पुरूषको फोटो देखेपछि एकाएक आवेगमा आएर हत्या गरेको बयान दर्शनले प्रहरीसमक्ष गरेको डिएसपी थापाले बताए ।

श्रीमान र श्रीमतीबीच आशंका र अविश्वासको परिणाम स्वरूप हत्या भएको हो, डिएसपी थापाले भने। उनका अनुसार दर्शनको पनि तीन जना महिलासँग सम्बन्ध रहेको खुलेको छ । श्रीमान परस्त्रीसँग लागेको थाहा पाएपछि नै प्रेमा र दर्शनबीच अविश्वास चुलिएको देखिन्छ, थापाले भने, अनि प्रेमाले पछिल्लो समय फेसबुकमा परपुरूषको फोटो राखेपछि दर्शन बिदा मागेर घर आएका थिए । प्रेमाको हत्यापछि दर्शन सुर्खेतको एक होटलमा गएका थिए । त्यहाँ आफ्नो झोला राखी गाडी चढेर गुर्भाकोटस्थित आफ्नो घर गएका थिए। बेलुकी ८ बजे पुगेर त्यहीँ बास बसेका थिए ।

आइतबार दिउँसो थाकल खान जंगल गएका स्थानीयले प्रेमाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रेमाको पहिचान खुलेपछि श्रीमान दर्शनको खोजी भएको थियो। उनी बिदामा घर आएको थाहा भएपछि प्रहरीले सोधपुछका लागि दर्शनलाई घरबाटै नियन्त्रणमा लिएको थियो। सोधपुछ क्रममा उनले घटना स्वीकार गरेका थिए ।

घटनास्थलमा प्रहरीले ढुंगा प्रहारपछि प्रेमा भुइँमा लड्दा लागेको रगत, घाँटीमा सलले बाँधेर घिसारिएको बाटो र जंगलमा फालेको प्रेमाको मोबाइल पनि फेला पारेको छ । प्रहरी हिरासतमा रहेका दर्शनलाई जिल्ला अदालतबाट सोमबार पाँच दिनको म्याद थप गरी घटना अनुसन्धान गर्न अनुमति प्राप्त भएको डिएसपी थापाले बताए ।

Loading...