अत्तरियाका अटो चालक अधिकारीले बाटोमा भेटिएको सुन फिर्ता गरे 

अत्तरिया- गोदावरी नगरपालिका–३ का अटो चालक कर्णबहादुर अधिकारीले आइतबार बाटोमा भेटिएको सुनको लकेट इमान्दारीपूर्वक वास्तविक धनीलाई फिर्ता गरेका छन् ।

अत्तरीया–मालाखेती सडकखण्डमा मालाखेती अस्पताल भन्दा अलि अगाडि धामी हार्डवेयर नजिक लकेट भेटेपछि उनले सामाजिक सञ्जाल फेसबुक तथा चिनेजानेहरू मार्फत जानकारी गराएका थिए । सोमबार इलाका प्रहरी कार्यालय मालाखेतीमा प्रहरी निरीक्षक दानसिंह भण्डारीको रोहबरमा उक्त लकेट धनी महानन्द भट्टलाई हस्तान्तरण गरिएको हो ।

udhok dadeldhura

अटो चालक अधिकारीले उनका बुवाले सधैं अरुको हराएको सामान भेटेमा फिर्ता गर्नुपर्छ भन्ने शिक्षा दिएका थिए। “बुवाको भनाइअनुसार नै म पनि सक्दो इमान्दारी देखाउन प्रयास गर्छु,” उनले भने ।

लकेट हराएका महानन्द भट्टका अनुसार उक्त सुनको लकेट नवदुर्गा सुनचाँदी गहना पसलबाट बनाएर घर फर्कने क्रममा उनकी श्रीमतीको हातबाट बाटोमै खसेको बताउँदै हराएको थाहा पाउँदै उनले सुनचाँदी पसल र इलाका प्रहरी कार्यालय मालाखेतीमा मौखिक जानकारी गराएका बताए । “कलियुगमा पनि यति इमान्दार व्यक्ति भेटिनु दुर्लभ हो । कर्णबहादुर अधिकारीप्रति म हृदयदेखि आभारी छु,” भट्टले भने ।

यस्तै कर्णबहादुर अधिकारी हाल सुप.प्र.०१–००१ ह–५९१७ नम्बरको इलेक्ट्रोनिक अटो चलाउँदै आएका छन् ।

Loading...