तेस्रो नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा जिएसएमलाई ७ विकेटले पराजित गर्दै आयोजक सितापुर बिजयी

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१० मा चलिरहेको तेस्रो नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ प्रतियोगितामा जिएसएमलाई ७ विकेटले पराजित गर्दै आयोजक न्यू सितापुर युवा क्लब (ए) ले जितेको छ । बिहीबार भएको फाइनल खेलमा न्यू सितापुरले अत्तरियाको जिएसएम नाइट राइडर्सलाई पराजित गर्दै उपाधि उचालेको हो ।

टस जितेर ब्याटिङ गरेको जिएसएम १४ ओभरमै सबै विकेट गुमाएर ५० रनमै सीमित भयो । जिएसएमका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । आयोजकका बलरहरू प्रभावशाली देखिए हरिसले ३ विकेट लिँदा, मदन र पारसले २/२ विकेट लिए ।

५१ रनको लक्ष्य पछ्याएको न्यू सितापुरले ९.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेटायो । पारस शाहले अविजित १७ रन र टेक रावतले अविजित १५ रन बनाए । बलिङ तर्फ जिएसएमका विपिन धामीले २ र प्रवेश क्षेत्रीले १ विकेट लिए । उत्कृष्ट प्रदर्शनका लागि पारस शाह म्यान अफ द म्याच घोषित भए ।

उपाधि सहित न्यू सितापुर युवा क्लबले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता जिएसएम नाइट राइडर्सले ५१ हजार १११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु पर्याो ।

पारस शाह नै प्लेयर अफ द टुर्नामेन्ट घोषित हुँदै २ हजार १०० रुपैयाँ प्राप्त गरे । १६ विकेट लिएका जिएसएमका भोजराज भट्टराई बेस्ट बलर घोषित भए भने २१४ रन बनाएका मष्टाबण्डली युवा क्लबका अर्जुन पार्की वेस्ट ब्याट्सम्यान घोषित भए । दुवैले समान १ हजार ५०० रुपैयाँ पाए । आयोजक टिमका सुमित पार्की राइजिङ प्लेयर घोषित हुँदै १ हजार १०० रुपैयाँ जिते ।

क्लब अध्यक्ष श्याम स्वाँरको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण समारोहमा वडाध्यक्ष रवीन्द्र शाही प्रमुख अतिथि रहेका थिए । समापन समारोहमा प्रतियोगितामा सहयोग पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष शाहीले आफू यस क्षेत्रको विकासका लागि सँधै लागि पर्ने बताए ।

Loading...