धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले ६ वटा ठेक्का मार्फत धनगढीका १९ सडक कालोपत्र गर्न सम्झौता गरेको थियो ।


प्रदेश सरकारले गत वैशाखमा सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेकोमा काम अन्तिम चरणमा पुगेको छ । धनगढी उपमहानगरपालिकाको बजार क्षेत्रमा १५ किलोमिटर नाली र ११ दशमलव पाँच किलोमिटर सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको हो ।



हाल सम्म १२ वटा सडकको नाली सहित कालोपत्रको काम सकिएको पूर्वाधार कार्यालय, धनगढीका सूचना अधिकारी विनोद खड्काले बताए । उनले भने, ‘कालोपत्रको काम हुँदैछन् । १०/१२ सडक कालोपत्र गरिएका छन् । केहीको चैतमा समय सकिएको छ । केहीको असारमा सकिदैछ ।’ पूर्वाधार विकास कार्यालय, कैलालीले ५२ करोड चार लाख ३४ हजार चार सय ५० रुपैयाँमा ६ वटा ठेक्का मार्फत सडक कालोपत्र गर्दै छ ।
प्रदेश सरकारले हाल टेम्पल रिसोट–शिवपुरी धाम–तुलसी चोक सडक कालोपत्रको काम गर्दै छ । रुबस होटेल–बैयाबेहडी सडक कालोपत्र गरिएको छ । पुरानो भन्सार रोड, पुष्पलाल चोक–धनगढी गाउँ सडक, त्रिवेणी सडक, चटकपुर–फाप्ला सडक कालोपत्रको काम जारी छ ।
गठबन्धन चोक– शिवपुर धाम सडक र सहिद गेट–शिवपुरी न्यूरोड सडक कालोपत्र गरिएको छ । मैदामिल–हिमाली गाउँ–कैलाली गाउँ सडक, बहिरा स्कुल सडक, कृष्ण टोल सडक र खप्तड बडीमालिका टोल सडक कालोपत्र गर्न ठेक्का गरिएको छ ।
असारसम्म सबै १९ वटै सडक कालोपत्रको काम पूरा गर्ने लक्ष्यमा प्रदेश सरकार रहेको छ । २०८१ को वैशाखमा सम्झौता गरिएको धनगढीका १९ सडक निर्माणको काम २०८२ असारसम्म पूरा गर्नुपर्ने छ ।