तेघरी सामुदायिक वनलाई अग्निनियन्त्रण सामग्री हस्तान्तरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका २ मा अवस्थित तेघरी सामुदायिक वनलाई आगलागी नियन्त्रणका लागि आवश्यक उपकरणहरू नेपाल रेडक्रस सोसाइटी, कैलाली शाखाले हस्तान्तरण गरेको छ ।

करिब १ लाख रुपैयाँ बराबरको अग्निनियन्त्रण सामग्रीहरू सामुदायिक वनका अध्यक्ष कृष्णा महरालाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

कार्यक्रम गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, नगर प्रवक्ता गोपालदत्त भट्ट, वडा नं. २ का अध्यक्ष यज्ञ बहादुर महरा, नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति लोकराज जोशी र रेडक्रस अत्तरियाका अध्यक्ष लगायतको उपस्थितिमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नगर प्रमुख भट्टले वन संरक्षणमा रेडक्रसले देखाएको सक्रियताको प्रशंसा गर्दै अग्निनियन्त्रण सामग्रीको सही सदुपयोग गरिनुपर्ने कुरामा जोड दिए ।

उनले आगलागी रोकथामका लागि स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको पनि उल्लेख गरे । नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूले समुदाय स्तरमै विपद् व्यवस्थापन क्षमताको विकास गर्नु आफ्नो प्राथमिकता रहेको बताए ।

Loading...