धनगढी- ११ वैशाख देखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको भन्दै सामाजिक सञ्जालमा एउटा सूचना सम्प्रेषित भइरहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डको लेटरहेडमा शुक्रबार जारी उक्त ‘सूचना’मा अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएको भनिएको छ ।

तर, बोर्डले भने परीक्षा स्थगितबारे कुनै निर्णय नगरेको प्रतिक्रिया दिएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले यसबारेमा कुनै निर्णय नगरिएको प्रस्ट पारेका छन् ।
बोर्डले आधिकारिक सूचनासमेत जारी गर्दै उक्त विषयमा ध्यानाकर्षण भएको जनाएको छ । अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने माथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाउँदै बोर्डले आधिकारिक वेबसाइटमार्फत् प्रवाह हुने सूचनामा मात्रै भर पर्न आग्रह गरेको छ ।