अत्तरियामा बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अत्तरिया-अत्तरियामा बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय कमिटी सदस्यहरू, सुदूरपश्चिम इन्चार्ज तथा प्रेस क्षेत्रका विभिन्न अग्रजहरूलाई लक्षित गरी २०८२ सालको पावन अवसरमा अत्तरियामा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको हो ।

नितान्त पत्रकारिता क्षेत्रमा क्रियाशील रही प्रेस चौतारी नेपालसँग आबद्ध अत्तरिया क्षेत्रका पत्रकारहरूले स्वस्फूर्त रूपमा आयोजना गरेको कार्यक्रममा नयाँ वर्षको शुभकामनासँगै हालै निर्वाचित केन्द्रीय सदस्यहरूलाई बधाई दिने उद्देश्य राखिएको थियो। कार्यक्रममा केही आमन्त्रित अग्रजहरूको उपस्थिति हुन नसकेको भए पनि उनीहरूले व्यक्तिगत कारणवश उपस्थित हुन नसकेको जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा सुदूरपश्चिम इन्चार्ज दिलबहादुर छत्याल र केन्द्रीय सदस्य सुशील ढुङ्गाना विशेष अतिथिका रूपमा सहभागी भएका थिए।साथै सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष मीन ठकुरी बधाई दिएका थिए। कार्यक्रममा बोल्दै इन्चार्ज छत्यालले सुदूरपश्चिमको पत्रकारिता क्षेत्रमा रहेका समस्याहरूप्रति आफू गम्भीर रहेको बताउँदै त्यसको समाधानका लागि सम्पूर्ण संगठनका प्रतिनिधिहरूसँगै लाग्नुपर्ने धारणा राखे। उनले आफू इन्चार्ज भएको हैसियतले पत्रकारिता क्षेत्रको सुधारलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धतासँगै २०८२ सालको शुभकामना सन्देश समेत व्यक्त गरेका थिए।

त्यसैगरी, कार्यक्रममा गोदावरी क्षेत्रका समाजसेवी तथा राप्रपाका युवा नेता विराज बिष्टले पनि पत्रकारिता पेशाको योगदानको प्रशंसा गर्दै समाजमा भइरहेका गतिविधि र समस्याको उजागर गर्न पत्रकारहरूको अतुलनीय भूमिका रहेको उल्लेख गरे। उनले पत्रकारिता क्षेत्रका चुनौतीहरूप्रति सचेत रहेको र आफू सधैं पत्रकार साथीहरूको पक्षमा साथ दिने प्रतिबद्धता जाहेर गरे। उहाँले पनि सम्पूर्ण पत्रकारहरूको आगामी कार्यकाल आगामी लक्ष्य सफलतापूर्वक अघि बढोस् २०८२ सालले सबैको कलममा दम पुर्‍याओस् भन्ने शुभकामना सन्देश दिएका थिए।

उक्त कार्यक्रमले प्रेस चौतारी नेपालसहित अत्तरियामा क्रियाशील पत्रकारहरूलाई ऊर्जा प्रदान गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमले आपसी समझदारी र सहकार्यलाई बलियो बनाउने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन्।

Loading...