सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै, नयाँ वर्ष २०८२ सुरु, आज सार्वजनिक बिदा

अत्तरिया, १ बैशाख- नेपाली पात्रोअनुसार, विक्रम संवत् दुई हजार बयासी (२०८२) साल प्रारम्भ भएको छ । नयाँ वर्षको पहिलो दिन आज वैशाख १ गते स्वदेश र विदेशमा रहेका नेपालीबीच एकापसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष वैशाख १ गते उत्साह र उमङ्गका साथ मनाइँदैछ ।

सरकारले नयाँ वर्षको उपलक्ष्यमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थालगायत सबै क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको राम्रा/नराम्रा कामहरुलाई सम्झिदै नयाँ बर्षमा सफलता पाउन नयाँ योजना र जोस जागरका साथ कामको सुरुवात गर्ने गर्दछन् ।

यस अवसरमा आज बिहानै स्नान गर्ने, घर-आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गति तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ । नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने, एकआपसमा शुभकामना आदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्न शक्तिपीठमा दर्शन गर्न जाने प्रचलन छ।

त्यसैगरी आज सुदुरपश्चिम प्रदेशमा सुदूरपश्चिमको छुट्टै मौलिक पर्वका रुपमा रहेको बिसु पर्वको रौनक छाएको छ । हरेक वर्षको अन्तिम दिन र वर्षको पहिलो दिन गरी दुई दिन सम्म यो पर्व मनाउने गरिन्छ । वर्षको अन्तिम दिनलाई बिदाई गर्दै र नयाँ बर्षको सुरुको दिनलाई स्वागत गरेर बिसु पर्व मनाउने चलन रहेको छ । बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु र्फकने गर्दछन्।

बिसु पर्वमा मिठा-मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सबै प्रकारका बिष निष्कृय हुने जनविश्वास रहेको छ ।

बैशाख शुरु भएसँगै रोगव्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिषु मनाउने प्रचलन रहेको संस्कृतिविद् डा.बद्रीप्रसाद बिनाडीले बताए । ‘सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा नयाँ बर्षलाई बिसु पर्व मानेर खुसियाली मनाउने चलन चल्दै आएको छ,’ डोटी क्याम्पसमा सहप्राध्यापक समेत रहेका बिनाडी भन्छन्, ‘मध्यपश्चिमका केही जिल्लाहरू पनि फरक-फरक तरिकाले बिसु पर्व मनाउने गरिन्छ ।’

१ गते संक्रान्तिको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ । यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा कुनै लागेको भए त्यसबाट मुक्त भइने र नयाँ वर्षमा जुनसुकै बिशालु जीवाणुबाट बचिन्छ भन्ने धार्मिक मान्यता रहेको डोटी दिपायल सिलगढी नगरपालिका-६ का भिमबहादुर बोहरा बताउँछन् । देवर-भाउज्र, नन्द-भाउजू, साली-भिनाजु, फुपु-सालीहरुका बिचमा सिस्नो पानी छ्याप्दै बिसु पर्व मनाउने चलन छ ।

यस दिन सुदूरका बिभिन्न समुदायमा लौरो नचाउने, बाघ भालु जस्ता जंगली जनावरहरुको जस्तै अभिनय गर्ने चलन पनि रहेको छ । यस्तो गर्दा जंगली जनावरहरुबाट हुने आक्रमणबाट बच्ने बिश्वास रहेको खप्तड छान्ना गाउँपालिका-५ बझाङका निर्पराज जोशीले बताए ।

जोशीले भने, ‘जंगलबाट लौरो काटेर ल्याउने र त्यसलाई रंग रोगनद्वारा आकर्षक बनाई प्रत्येकको घरमा वर्षभरी राख्ने चलन छ ।’ यस लौरोलाई स्थानीय भाषामा ‘बिस्या लठ्ठी’ भन्ने गरिन्छ ।

हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै बिसुपर्व मनाउने गरिएको विश्वास छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती पाइन्छ । 

Loading...