

अत्तरिया- गोदावरी नगरपालिकामा दुग्ध विकास संस्थान (डिडिसी) नसार्न माग गर्दे जनप्रतिनिधि, राजनीतिकर्मी र अधिकारकर्मीहरु दवाव दिँदै आएका छन् । आईतबार सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीसंग छलफल गरेका छन् । मन्त्री वीर बहादुर थापालाई मन्त्रालयमै छलफल भएको हो ।


भेटमा प्रतिनिधिमण्डलमा प्रदेश सांसद तथा अर्थ राज्यमन्त्री प्रकाश बम, प्रदेश सांसद तुलसी देवकोटा, प्रदेश सांसद खेमा बिष्ट, प्रदेश सांसद जानकी कँुवर पौडेल, युवा नेता लोकराज पाण्डेय ‘आगो’ लगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उनीहरूले अत्तरिया क्षेत्रमै डिडीसी राख्नुपर्ने र कुनै पनि हालतमा धनगढी सार्न नहुनेमा जोड दिएका थिए ।




भेटका क्रममा मेयर भट्टले डिडीसी लाई अत्तरियामै रोक्नुपर्ने आवश्यकता औंल्याउँदै, त्यसका लागि आवश्यक पर्ने जमीन गोदावरी नगरपालिकाले उपलब्ध गराउने स्पष्ट प्रतिबद्धता व्यक्त गरे । कृषि मन्त्री थापाले विषय गम्भीर भएको उल्लेख गर्दै, सरोकारवालासँग विस्तृत छलफल गरेर मात्र अगाडि बढ्ने बताए ।
त्यसैगरी केही दिन अगाडि प्रदेश सासद देखी स्थानीय निकाय प्रतिनिधि, युवानेता सँगै चेतना सामिदायिक बनका प्रतिनिधिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहालाई पनि ज्ञापन पत्र बुझाएका थिए । प्रदेशका वरिष्ठ नेतृत्व, सांसद, स्थानीय निकायका प्रतिनिधि र सामुदायिक वन प्रतिनिधिहरूको संयुक्त प्रतिनिधिमण्डलले यो ज्ञापन बुझाएको हो ।
मुख्यमन्त्री शाहले ज्ञापन स्वीकार गरी तत्काल प्रतिक्रिया दिँदै संघीय र प्रदेश कृषि मन्त्रीसँग छलफल गरी यस मामिलामा अन्तिम निर्णय गर्ने आश्वासन दिएका थिए ।
यस अघि नै विभिन्न मन्त्रालय, वन विभाग र स्थानीय स्तरबाट डिडीसी अत्तरियामै राख्ने सहमति भएको छ । मिति २०६७ देखि नै यसको लागि जग्गा छनोट, फिजिबिलिटी स्टडी र वातावरणीय अनुमति पत्र पनि प्राप्त भइसकेको छ । तर, केन्द्रीय स्तरबाट योजना सार्ने प्रयासले स्थानीय आक्रोश बढाएको छ ।

