सामाजिक विकास मन्त्री खड्का र मन्त्री सार्कीद्वारा आगलागी क्षेत्रको निरीक्षण

धनगढी- आगलागीबाट नष्ट भएको बान्नीगढी जयगढ क्षेत्रको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले निरीक्षण गरेका छन् । धनगढीबाट हिजो गएका मन्त्री खड्का, प्रदेशकै आन्तरिक मामिला मन्त्री हिरा सार्कीको टोलीले आजगनी भएको बजारको बिहीबार निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मन्त्री खड्काले जलेर नष्ट भएका घर, पसलहरूको जानकारी लिएका छन् । क्षतिको विवरण लिनेसँगै आगजनीबाट पीडित व्यक्तिहरूसँग समेत भेटघाट गरेको बताइएको छ । बुधबार बिहान सुदूरपश्चिम मन्त्रिपरिषद्को बैठक सकेर खड्का क्षतिको स्थलगत निरीक्षणका लागि अछाम आउनुभएको हो । क्षतिको बारेमा बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँद र अछाम प्रहरी प्रमुख इश्वरी प्रसाद भण्डारीले जानकारी दिए । अछाम मन्त्री खड्काको गृह जिल्ला हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मङ्गलबार साँझ ७ः३० बजेतिर आगलागी भएर २३ घरमा रहेका ३५ वटा पसलहरू जलेर नष्ट हुँदा आठ करोड भन्दा बढीको क्षति भएको बान्नीगढी जयगढ गाउँपलिकाले जानकारी दिएको छ । गाउँपालिकाका अनुसार पीडितको तत्कालका लागि व्यवस्थापन भएको भए पनि पीडितको दीर्घकालीन व्यवस्थापनका लागि सरकारी र अन्य क्षेत्रसँग समन्वय भइरहेको बताएको छ ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले एक विज्ञप्ति जारी गरेर आगलागी नियन्त्रणका लागि दमकल सहयोग गर्ने मङ्गलसेन नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीय सहयोगीलाई धन्यवाद दिए ।

आगलागी भएको जयगढ बजारमा अछाम २ का प्रतिनिधिसभा सदस्य पुष्प बहादुर शाह, नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहरा, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, जनप्रतिनिधि र अन्य सरोकारवालाहरूले घटनास्थलको स्थलगत अध्ययन गरिसकेका छन् । जनप्रतिनिधि, राजनीतिक दल र अन्य अगुवाहरूले पीडितलाई सहयोग गर्नका लागि अपिल गरेका छन् ।

Loading...