

अत्तरिया- कैलालीको अत्तरियामा बुधबार बिहान भेटिएको शवको पहिचान हुन सकेको छैन । गोदावरी नगरपालिका १ अत्तरिया चौराहमा रहेको दुर्गा मन्दिर परिसरमा रगताम्मे अवस्थामा बुधबार बिहान फेला परेका अन्दाजी ३५/४० वर्षका पुरुषको शवको अहिले सम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।


शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ तर पहिचान खुल्न नसकेको र कोही आफन्त पनि सम्पर्कमा नआएकोले अनुसन्धानमा पनि समस्या भैरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाले बताए । उनले शवको सनाखत नभएका कारण पोष्ट मार्टम पनि हुन नसकेको बताए ।




घटनाका बारेमा अनुसन्धान जारी रहेको र अत्तरिया आसपासकै ३ जनालाई सोधपुछका लागि मात्र नियन्त्रणमा लिएको डिएसपी थापाले बताएका छन् ।
नग्न अवस्थामा फेला परेको शवमा चोटपटक पनि देखिएको र शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिने उक्त शव बारे आफ्ना सबै पोस्टहरुमा हुलिया सहित पठाइएको भएपनि प्रहारबाट टाउकोको बाँया भाग, आँखा, र अनुहार रगताम्मे अवस्थामा रहेकोले फोटो भने सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाकै अगा रहेको सो मन्दिर परिसरमा शव फेला परेको थियो । सडक पारीपट्टि रहेको मन्दिरमा यती ठुलो घटना हुँदा पनि प्रहरी अनविज्ञ भएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । स्थानीयले प्रहरी कार्यालय अगाडिको मन्दिरमा बीभत्स हत्या हुँदा पनि प्रहरीले थाहा नपाउनु प्रहरीको गम्भीर लापरबाही भएको बताएका छन् ।

