

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१ को दुर्गा मन्दिर पछाडि युवकको शव भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।




इलाका प्रहरी कार्यालय मालाखेतीले तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए । उनीहरुलाई घटनाबारे सोधपुछका लागि मात्र नियन्त्रणमा लिइएको बोहराले बताए । तर मृतकको शवको सनाखत भने भएको छैन । टाउकोमा गम्भीर चोट लागेको अवस्थामा परिचय नखुलेका अन्दाजी ३५/३६ वर्षीय युवकको शव बुधबार बिहान फेला परेको थियो ।


घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको छ । घटनास्थल कार्य सकेर शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको टोली परिचालन भएको छ ।

