

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयले भोलि (बुधबार) एक कार्यक्रमका साथ मनाउने स्वर्ण महोत्सवको तयारी पूरा भएको छ । मंगलबार विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारीका बारेमा जानकारी दिएको हो ।


विद्यालयको ५० वर्ष पूरा भई ५१ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वर्ण महोत्सवको तयारी पूर्ण भएको जानकारी दिएको छ । सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले ३ दिन सम्म संचालन हुने स्वर्ण महोत्सव सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँको प्रमुख आतिथ्यमा उद्घाटन गरिने भएको जानकारी दिए ।


अध्यक्ष शाहले सामुदायिक विद्यालयले पनि एक प्रकारको उत्कृष्ट कार्यक्रमको भव्य आयोजना गर्न सक्ने क्षमता रहेको बताएका छन् । उक्त स्वर्ण महोत्सव मार्फत विद्यालयमा रहेका विविध प्रतिभा, जनशक्ति र सकारात्मक पक्षहरूलाई प्रस्तुत गर्न विशेष ध्यान दिइएको बताए । उनले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले पनि देशको नेतृत्व गर्न सक्ने क्षमता राख्ने विश्वास व्यक्त गरे । “सामुदायिक विद्यालयको शिक्षालाई स्तरोन्नति गर्न सकिन्छ, र यदि सम्पूर्ण र दूरदृष्टि साथ अगाडि बढ्न सकियो भने, यस्ता विद्यालयहरू पनि उत्कृष्टताको नमूना बन्न सक्छन्, अध्यक्ष शाहले भने ।


उनले तिन दिवसीय स्वर्ण महोत्सवको उद्घाटन समारोहका दिन ७ बजे बाट सुरु भई स्वर्ण महोत्सव प्रभात फेरि, उद्घाटन, स्मारक अनावरण तथा स्मारिका विमोचन, सांस्कृतिक, सम्मान कार्यक्रम साथै अक्षय कोष पुरस्कार वितरण गरी समारोह १२ बजे सम्म मनाउने भएको बताए ।
यस्तै दोस्रो सामाजिक विकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यमा विज्ञान तथा प्रविधि प्रदर्शनी, पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम, यस विद्यालयबाट अध्ययन गरेका पूर्व विद्यार्थी चर्चित गायक, मोडल चक्र बम लगायत कलाकारहरुको प्रदर्शनी गर्ने छन् ।
यस्तै कार्यक्रममा “प्यानल डीस्कसन“ विद्यालय शिक्षा परम्परागत देखी प्रविधि सम्म अवस्था बारे संवादको कार्यक्रम रहने भएको जसमा सहजकर्ताको रूपमा शिक्षा क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आइरहेका टेकराज अवस्थी रहने र शिक्षाविद् डा. विधानाथ कोइराला, डा हेमराज पन्त, संस्थापक प्रअ कृष्णदत्त पनेरु वक्ताहरुको रुपमा रहेका छन । यस्तै, रक्तदान कार्यक्रम सञ्चालन समेत गरिने भएको छ ।
कार्यक्रम २९ गते गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यमा समापन गरिने भएको छ । समापन अघि पूर्व विद्यार्थी मञ्चद्वारा हाफ म्याराथन दौड प्रतियोगिता आयोजना हुने, खेलकुद पुरस्कार वितरण, अतिथि कलाकारहरुको प्रस्तुति, संस्कृति भेषभुषा झल्काउने प्रतिभाहरू रहने र स्वर्ण महोत्सव कार्यक्रम समापन गरिने जनाइएको छ ।

