

अत्तरिया- गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रविन्द्र शाही ‘गुड्डु’ले आफ्नो दोस्रो कार्यकाललाई जनताको अपेक्षा अनुसार विकास र समृद्धिमा समर्पित गरेका छन् । पहिलो कार्यकालमै जनविश्वास जितेका शाहीले अहिले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, ढल व्यवस्थापन, स्मार्ट बत्ती, खुला स्थान संरक्षण र पार्क निर्माणजस्ता पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति गरेका छन् ।


स्थानीयवासीहरूका अनुसार शाहीले पहिलो कार्यकालमै देखिएको प्रतिबद्धता र पारदर्शी कामको शैलीकै कारण दोस्रो कार्यकालको जित सुनिश्चित गरेका थिए । अहिले वडामा देखिएको परिवर्तनको श्रेय जनताले शाहीकै योजनाबद्ध, सक्रिय र समर्पित नेतृत्वलाई दिने गरेका छन् ।




वडाध्यक्ष शाही भन्छन्, “विकास कुनै प्रचारको विषय होइन। म परिणाममै विश्वास राख्छु । जनताको जीवनस्तरमा प्रत्यक्ष असर पार्ने योजनालाई प्राथमिकता दिएको छु ।”
उनको काम गर्ने शैलीमा स्पष्टता, जवाफदेहिता र जनसहभागिता देखिन्छ । विकासका योजनाहरूमा युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गरिएको छ, जसले दीर्घकालीन र दिगो विकासमा सहयोग पुगेको छ ।
हाल वडा नं. १० लाई व्यवस्थित, सुरक्षित र समृद्ध बनाउने दीर्घकालीन दृष्टिकोणअनुसार पूर्वाधार विस्तार तीव्र रूपमा भइरहेको छ । वडाका अधिकांश टोलमा ढल, नाली, बाटो, बत्ती जस्ता आधारभूत आवश्यकताहरू पूरा हुँदै गएका छन् ।
शाहीको नेतृत्वमा गोदावरी–१० ले अत्तरिया क्षेत्रमै अनुकरणीय उदाहरण प्रस्तुत गरिरहेको छ । योजनाको छनोटदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा जनताको चासो र सुझावलाई समावेश गरिनु शाहीको विशेषता बनेको छ । यस्तो समर्पित नेतृत्वका कारण वडा नं. १० नजिकको भविष्यमा सुदूरपश्चिमकै उत्कृष्ट नमुना वडाका रूपमा स्थापित हुने अपेक्षा बढ्दै गएको छ।

