हरियाली धनगढी अभियान अन्तर्गत सडक किनारामा १ हजार ३६५ बिरुवा रोपियो

धनगढी- धनगढी उपमहानगरपालिकाले हरियाली प्रवर्धन कार्यक्रमअन्तर्गत धमाधम बृक्षारोपण गर्दै आएको छ । यस क्रममा उपमहानगरपालिकाको वडा नम्बर १६ का सडक किनारामा एक हजार ३६५ बिरुवा रोपिएको छ ।

तेस्रो चरणको खण्ड अन्तर्गत हरियाली प्रवर्धन र धनगढीलाई पर्यावरणमैत्री बनाउने उद्देश्यले सो वडाका भादा, घसिँटा, घुरही, बिउसा र रामपुरमा सडकको छेउमा ट्री गार्डसहित उक्त संख्यामा बिरुवा रोपिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले बृहत् वृक्षारोपण अभियानमा सुरु देखि नै आम नगरबासीलाई सहभागी बनाउने गरिएको बताए । उनले भने, ‘उपमहानगरपालिकाले वृक्षारोपण अभियान’ बोउट आह्वान गरेपछि देशभित्र र विदेशमा रहेका नेपालीहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी छ । प्राप्त भएको रकम विरुवा र घेरबार खरिदमा खर्च गर्ने गरिएको छ ।’ उपमहानगरपालिकाले हरियाली धनगढी सहर नारासहित गत आर्थिक वर्ष २०७९/०८० बाट वृक्षारोपण अभियान अघि बढाएको हो ।

अहिले सम्म उपमहानगरपालिका भित्रको ६ लेन सडक, ट्राफिक चोकदेखि कैलाली पुलसम्मको बीच भाग (मेडियन) र दुवै किनारामा वृक्षारोपण भइसकेको छ । त्यस्तै, क्याम्पस चोकदेखि मनेहरासम्मको हुलाकी सडक, सहिदगेटदेखि क्याम्पसरोड लगायतमा पनि वृक्षारोपण गरिएको छ । नगरभित्रका भित्री सडकहरूमा समेत बृक्षारोपण गरिएको छ ।

रोपिएका बिरुवाको सुरक्षाका लागि तारजाली, ट्री गार्डको व्यवस्था गरिएको छ । रोपिएका विरुवामा नियमित रुपमा गोडमेल गर्ने, मल हाल्ने, सिँचाइ गर्ने काम भइरहेको छ । उपमहानगरपालिकाले सम्पूर्ण नगरवासीलाई आ–आफ्नो घर अगाडी रहेका बोट बिरूवाहरूको हेरचाह एवं सरक्षणका लागि हार्दिक अनुरोध गरेको छ ।

Loading...