अडियो प्रकरणमा मेरो संगलग्नता छैन :एमाले नेता नारदमुनी

धनगढी- नेकपा एमालेका नेता नारदमुनि रानाले सुदूरपश्चिम प्रदेशको उद्योग, वन तथा वातावरण मन्त्रालयमा भएको आर्थिक चलखेलमा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाएका छन् । मङ्गलवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू निर्दोष रहेको दाबी गर्दै अडियोमा आफ्नो नाम गलत रूपमा प्रयोग गरिएको बताए ।

राजीनामा दिएका उद्योग, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीसँगको भेटका क्रममा भएको कुराकानीको अडियो सार्वजनिक भएपछि विभिन्न सञ्चारमाध्यमले आफ्नो फोटो राखी समाचार प्रकाशित गरेकोमा उनले आपत्ति जनाए ।

रानाका अनुसार चौधरीले आफूलाई फोन गरी ‘दाजु, म तपाईँजस्तै मन्त्री भएको छु। हाम्रो संयुक्त सरकार पनि छ । चिया खाऔँ र सरसल्लाह गरौँ,’ भन्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्तावपछि मन्त्रीको कार्यकक्षमा आफू पुगेको उनले बताए । उनले भने, ‘त्यहाँ सचिवालयका केही व्यक्ति पनि थिए । मन्त्रीज्यूले काम गर्न गाह्रो भएको बताएपछि मैले दुई सुझाव दिएको थिएँ — पहिलो, कार्यदल बनाएर समय दिनुहोस्, जसले कार्यविधि तयार पारोस् । दोस्रो, लुम्बिनी प्रदेशको कार्यविधिलाई आधार मानेर आवश्यक परिमार्जन गर्नुहोस्,’

रानाले अडियोमा भएका अरू कुराहरू आफू अघि नभएको र कसैले अडियोमा अन्य संवादहरू जोडेको दाबी गरे । ‘अडियो तोडमोड गरेर प्रस्तुत गरिएको छ । आर्थिक चलखेलको कुरा मसँग कुनै पनि सम्बन्ध छैन,’ उनले स्पष्ट पारे ।

उनले मन्त्रालयकै केही व्यक्तिले अडियो रेकर्ड गरी सार्वजनिक गरेको हुनसक्ने शंका व्यक्त समेत गरे । नेता रानाले मन्त्रालयलाई सफल बनाउन सकारात्मक सुझाव मात्रै दिएको र आर्थिक चलखेलमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरे ।

विवादमा तानिएपछि चौधरीले पदबाट राजीनामा दिएका थिए । दीगो वन व्यवस्थापन कार्यविधि मन्त्रीपरिषद्बाट पारित गरी कार्यान्वयनका लागि आर्थिक चलखेल गर्ने योजना रहेको अडियो सार्वजनिक भएपछि चौधरीले नैतिकताको आधारमा राजीनामा दिएको बताएका थिए ।

Loading...