

धनगढी- प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको इन्चार्जमा दिलबहादुर छत्याल चयन भएका छन् । विराटनगरमा यही चैत्र ११ गते सम्पन्न १०औं महाधिवेशनबाट छत्याल प्रदेशको इन्चार्जमा सर्वसम्मत चयन भएका हुन् ।




दुई दशक बढी समय देखि पत्रकारितामा सक्रिय उनी प्रेस चौतारीका केन्द्रीय सदस्य थिए । सुदूरपश्चिमको इन्चार्ज भईसके पछि अब प्रदेशमा छत्यालले चौतारीलाई सशक्त रूपमा अगाडि बढाउने विश्वास लिइएको छ ।


२०५६ साल देखी चौतारीमा आबद्ध छत्याल २०६८ सालमा चौतारीबाट टिकट पाएर सुदूरपश्चिमबाट पत्रकार महासङ्घको केन्द्रीय चुनावमा सदस्यमा निर्वाचित भएका थिए । उनी चौतारीको दुई कार्यकाल केन्द्रीय सदस्य रहे। २०६४ सालमा पत्रकार महासङ्घ डोटी शाखाको अध्यक्षमा निर्वाचित भएका उनी नेपाल भारत पत्रकार संघका अध्यक्ष समेत हुन् ।
उनले कालापानी सन्देश साप्ताहिकबाट पत्रकारिता सुरु गरी नयाँ मुलुक दैनिकमा कार्यकारी सम्पादक बनेका थिए । डोटीमा २०५९ साल देखी २०६५ साल सम्म कान्तिपुरमा आबद्ध रहेका उनी दैनिक डटकममा ६ महिना मध्यपश्चिमको ब्युरो प्रमुख बनेर काम गरे। उनी नागरिक दैनिकमा स्थापना काल देखी सम्वाददाता रही हाल नागरिक दैनिकका सुदूरपश्चिम ब्युरो प्रमुख रहेका छन् ।

