अघोषित नजरबन्दमा पूर्वराजा ज्ञानेन्द्र, सुरक्षाकर्मीको सङ्ख्या पनि घटाइयो

सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघोषित नजरबन्दमा राखेको छ । मुलुकमा शान्ति सुरक्षा खलबल्याएको र हिंसात्मक आन्दोलन गराउन योजनाबद्ध भूमिका खेलेको भन्दै उनलाई शुक्रबार रातिदेखि नै अघोषित नजरबन्दमा राखिएको हो । पूर्वराजाको निवास र वरिपरिको क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । यस्तै पूर्वराजा ज्ञानेन्द्रलाई बाहिर निस्कन दिइएको पनि छैन ।

भेटघाटका लागि जानेहरूलाई समेत निगरानीमा राखिएको स्रोतले जनाएको छ । सरकारले पूर्वराजाको राहदानी रद्द गर्ने प्रक्रिया पनि अघि बढाएको छ । उनलाई मुलुकबाहिर समेत जान नदिने नीति सरकारले लिन लागेको छ ।

यसैबीच, सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरीको सेट परिवर्तन गरी सुरक्षाकर्मीको सङ्ख्या घटाएको छ । गृहमन्त्रालय स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले यसअघि पूर्वअतिविशिष्ट व्यक्तिले पाउने सुरक्षाकर्मीसँगै अतिरिक्त सुविधा लिँदै आएका थिए । सरकारले यो सुविधा कटौती गरी पूर्वराजाको हकमा पूर्वराष्ट्रपतिले पाउने सुरक्षा व्यवस्था अनुसार सङ्ख्या कटौती गरेको हो ।

पूर्वअतिविशिष्ट व्यक्तिका लागि सरकारले सशस्त्र प्रहरी बलको कार्यदलमार्फत सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा १६ जना सुरक्षाकर्मी खटिने व्यवस्था गरेको छ तर यसको अतिरिक्त पूर्वराजा ज्ञानेन्द्रको हकमा सरकारले २५ जना खटाएको थियो ।

गृहमन्त्रालयले शुक्रबारको घटनापछि पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा तैनाथ नौ जना सुरक्षाकर्मी घटाएको हो । गृहमन्त्रालयले पूर्वराजाको सुरक्षामा तैनाथ युनिट नै परिवर्तन गरेको छ । राजावादी समूहले शुक्रबार काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले पूर्वराजाका गतिविधिमाथि निगरानी बढाउँदै प्राप्त सुविधा कानुनबमोजिम कटौती गर्ने तयारी समेत गरेको छ ।

Loading...