पूर्वराजालाई पक्रन माग गर्दै ‘ह्यासट्याग अरेष्ट ज्ञानेन्द्र’ अभियान

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ह्यासट्याग अरेष्ट ज्ञानेन्द्र अभियान चलेको छ ।
शनिबार देखि सामाजिक सञ्जालका विभिन्न माध्यममा पूर्वराजा शाह बारे पोस्ट राख्दै प्रयोगकर्ताहरूले पक्राउ गर्न माग गरेका हुन् ।

तीनकुनेमा शुक्रबार भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुईजनाले ज्यान गुमाएका थिए । थुप्रै घाइते भएका थिए भने सर्वसाधारणका घर, व्यापारिक प्रतिष्ठानहरू, सञ्चारमाध्यम, राजनीतिक पार्टीका कार्यालय तथा सरकारी र निजी दर्जनौं सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो ।

प्रदर्शनको नाममा हिंसा मच्चाएपछि आन्दोलनका मुख्य डिजाइनर भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गर्न सर्वसाधारणले #ArrestGyanendra अभियान मार्फत् सरकारलाई दबाब दिएका हुन् । उनीहरूले ज्ञानेन्द्रलाई यो अपराधबाट उन्मुक्ति नदिन सरकारसँग अपिल गरेका छन् ।

प्रदर्शनलाई हिंसात्मक बनाउन भिडलाई उक्साएको तथा तोडफोड र आगजनीमा संलग्न रहेको भन्दै प्रहरीले अहिले सम्म एक सयभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत पक्राउ परिसकेका छन् । आन्दोलनको कमान्डर भनिएका दुर्गा प्रसाईंलाई शुक्रबारदेखि नै प्रहरीले खोजी गरिरहेको छ । प्रसाईं हिजै देखि फरार छन् ।

Loading...