

धनगढी- सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सिंह सार्कीले विपद्लाई प्राथमिकता दिने बताएका छन् । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा विपतलाई प्राथमिकता दिने उनले बताएका हुन ।


आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय एवम् मर्सिकोर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको आयोजनामा धनगढीमा भएको कार्यक्रम उनले विभिन्न दातृ निकायसँग समन्वय गरेर विपत् व्यवस्थापनका लागि बढी बजेट छुट्याउने उल्लेख गरेका छन् ।




मन्त्री सार्कीले पूर्व सूचना प्रणालीलाई अझ व्यवस्थित गर्ने र समुदायलाई सचेत पार्ने कार्य समेत गर्ने बताए । विगतमा भएको क्षतिलाई अङ्कलन गरेर अझै बढी तयार हुन आवश्यक रहेको उनको तर्क छ । विपत् जोखिम न्यूनीकरणको हकमा प्रदेश सरकारले धेरै अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको मन्त्री उनले बताएका छन् ।
सङ्घसंस्थाहरूले विपतको सवालमा अध्ययन गरेर प्रदेश सरकारलाई घचघच्याउने काम गर्दै आएका छन् । प्रदेश सरकारबाट भएको कमीकमजोरी सुधार गर्न आवश्यक रहेको उनले बताएका छन् । पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाइने प्रदेश सरकारको दाबी छ ।
कानुन मन्त्रालयका निमित्त सचिव आमोद दाहालले विपत् व्यवस्थापनको हिसाबले अध्ययन र बजेट बढाउन जरुरी रहेको बताए। यस्तै, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घका निर्देशक अशोक विक्रम जैरूले हरेक व्यक्ति, परिवार, पालिका विपत् उत्थानशील हुन जरुरी भइसकेको उल्लेख गरेका छन् । उनले विपत् सम्बन्धी अध्ययनले प्रदेश सरकारलाई त्यस क्षेत्रमा बजेट विनियोजन गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा यो प्रदेशमा जलवायु अनुकूलन र विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धित बजेट विश्लेषण अध्ययनबाट प्राप्त नतिजा सार्वजनिक गरिएको थियो ।

