

काठमाडौं- तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।


राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।




एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले राजावादीले निजी घरमा लगाएको आगोमा परी रजकको मृत्यु भएको बताए । उनी विगत ५ वर्षदेखि क्यामरा पर्सनको रूपमा एभिन्युज टेलिभिजनमा कार्यरत थिए ।
दाहालका अनुसार रजकले उक्त आगलागी भएको घरको छतमा बसेर प्रदर्शनकारीहरूको भिडियो बनाइरहेका थिए । सोही घरमा प्रदर्शनकारीले आगो लगाएपछि उनी जलेका थिए ।
प्रहरी प्रवक्ता डीआइजी दिनेश कुमार आचार्यले आगलागी भएको घरबाट एक जनाको शव निकालेको पुष्टि गरे। उनले भने, ‘आगलागी भएको घरबाट एक जनाको शव निकालेको छौं । पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।
रजक एभिन्युजका लागि उक्त घरबाट दृश्य खिचिरहेका बेला प्रदर्शनकारीले उक्त घरमा आगजनी गरेका थिए । त्यस्तै झडपमा कीर्तिपुरका अर्का एक युवकको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा २९ वर्षीय सविन महर्जन रहेको प्रहरीले जानकारी दिएको छ ।

