प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप गरिद गर्दै

धनगढी- साढे ३१ लाख रुपियाँ बढी खर्चेर सुदूरपश्चिम प्रदेश सभाका सदस्यका लागि ल्यापटप खरिद हुँदैछ। प्रदेश सभा सचिवालयले ४३ जना प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप गरिद गर्न लागेको हो । प्रदेश सभा सदस्यको कामकारबाहीलाई सहज र प्रविधिमैत्री बनाउनका लागि प्रदेश सभा सचिवालयले नयाँ दिने जनाइएको छ ।

प्रदेश सभा सचिवालयले लेनेभोको आई–५ एसेसोरिज भएको ४३ थान ल्यापटप खरिदका लागि फर्मसमेत छनोट गरिसकेको छ। ल्यापटप खरिदका लागि माघ १५ गते बोलपत्र आह्वान गरेको थियो । आठ बोलपत्र दर्ता भएकोमा सबैभन्दा कम अङ्क कबोल गर्ने धनगढीकै उग्रतारा ट्रेडिङ एण्ड सप्लायर्सको बोलपत्र छनोट भएको छ । सो फर्मले ३१ लाख ८२ हजार ६४५ रुपियाँ मूल्य अभिवृद्धि करसहित मा ४३ थान ल्यापटप उपलब्ध गराउने कबोल गरेको छ ।

बोलपत्र छनोट भइसकेकाले अब चाँडै नै ल्यापटप खरिद हुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य रहेकोमा १० जना सरकारमा हुनुहुन्छ । मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री बाहेकका प्रदेश सभा सदस्यका लागि प्रदेश सभा सचिवालयले नयाँ ल्यापटप खरिद गर्न लागेको हो ।

यस अघि, अघिल्लो प्रदेश सभाका सदस्यलाई पनि ल्यापटप दिइएको थियो । प्रदेश सभा सचिवालयले आई–३ एसेसोरिज भएको लेनेभोकै ४६ थान ल्यापटप खरिद गरेर आफ्ना सदस्यलाई दिएको थियो ।

सो ल्यापटप पुरानो भएको र धेरैजसो नचल्ने भएको जनाइएको छ । त्यसैगरी कतिपय प्रदेश सभा सदस्यले ल्यापटप फिर्ता नगरेका जनाइएको छ । पाँच वर्षे कार्यकाल सकिएपछि धेरैजसोले प्रदेश सभालाई नै ल्यापटप फिर्ता गरे पनि १२ जनाले अहिले सम्म ल्यापटप फिर्ता नगरेको जैसीले जानकारी दिए ।

पुरानो ल्यापटपको कतिपयको डिसप्ले गएकाे जनाइएको छ । केही नचल्ने भएका छन् । चलेकाहरु पनि ढिलो चल्ने गरेको बताइएको छ । “अघिल्लो पटक खरिद गरिएको ल्यापटप पुरानो जेनेरेसनको रहेको र धेरैजसो नचल्ने भएकाले समयानुसार नयाँ जेनेरेसनको ल्यापटप खरिद गर्न लागिएको हो”, जैसीले भने ।

प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप खरिद गर्ने कार्य अगाडि बढाएपछि पहिलेको ल्यापटप हुँदाहुँदै फेरि ल्यापटप खरिद गर्न थालेको भन्दै विरोधको स्वर पनि सुनिएको थियो ।

Loading...