कुलमानलाई पदबाट हटाउने सरकारको निर्णय, ऊर्जामन्त्रीको पुत्लादहन

काठमाडौं- सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । सरकारसँगको लामो द्वन्द्वपछि ऊर्जा मन्त्रालयले उनलाई पटकपटक ‘पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको थियो ।

यस अघि फागु २३ गते मन्त्रिपरिषद् बैठकले चार प्रमुख आधारमा घिसिङलाई बर्खास्त गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोधेको थियो । जलस्रोत तथा सिँचाइ मन्त्रालयले पटक–पटक स्पष्टीकरण सोधे पनि त्यसैका आधारमा मात्र घिसिङलाई पदमुक्त गर्न नसकिने देखिएपछि मन्त्रिपरिषद् बैठकले उनलाई सफाइ पेस गर्न मौका दिने निर्णय गरेको थियो ।

कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुत्लादहन


काठमाडौंको प्रदर्शनीमार्गमा विद्यार्थीहरूले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा विद्यार्थीहरूले पुत्ला जलाएका हुन् ।

एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै पुत्ला जलाएका हुन् । प्रदर्शनमा सहभागीहरुले कुलमानको पक्षमा र सरकारको विपक्षमा नारा समेत लगाएका थिए । प्रदर्शनको नेतृत्व एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले गरेका थिए । जलिरहेको पुत्ला बोकेर विद्यार्थीहरू अगाडि बढेपछि प्रहरीले खोसेको थियो ।

विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै पराजुलीले सरकारले दलाल, माफिया र भ्रष्टाचारीहरुलाई संरक्षण गरेको आरोप लगाए । ‘यो सरकारलाई उज्यालो मन पर्दैन, कालो धन, अँध्यारो मनपर्छ,’ पराजुलीले भने, ‘त्यसैले सरकारले भ्रष्टाचारलाई पक्षपोषण गरेको छ ।’ उनले सरकार विरुद्ध देशभर आन्दोलनमा होमिन अपिल समेत गरे ।

Loading...