

सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक बर्ष २०८१/०८२ को १० महिनामा ६४ जनाको क्षयरोग (टिभि) संक्रमणबाट मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले विश्व क्षयरोग दिवसको अवसरमा धनगढीमा भएको कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।


यस अघिका आर्थिक बर्ष २०८०/०८१ मा १ सय १६ जनाको मृत्यु भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ । यस्तै आर्थिक बर्ष २०७९/०८० मा २ सय २१ जनाको मृत्यु भएको थियो । आज (सोमबार) विश्व क्षयरोग दिवस मनाईदैँ छ ।


‘हो हामी क्षय रोगको अन्त्य गर्न सक्छौं, लगानीको प्रतिबद्धता, सेवा प्रवाहको सुनिश्चितता र आजको आवश्यकता’ भन्ने मूल नाराका साथ दिवस मनाईदै छ । स्वास्थ्य निर्देशनालय डोटीका क्षयकुष्ट अधिकृत मनोज ओझाले सुदूरपश्चिममा सबै भन्दा बढी क्षयरोगका बिरामीहरु कैलाली र कञ्चनपुरमा रहेको बताए । उनले सरकारले बर्षै पिच्छे बजेट घटाउनाले पनि चुनौति थपिएको बताए ।
सन् २०५० भित्र मुलुकलाई क्षयरोग मुक्त अभियान लिएको उनले बताए । ८० प्रतिशत बिरामीको फोक्सोमा र बाँकी २० प्रतिशतको मात्र अन्य अंगमा क्षयरोगको संक्रमण देखिने गरेको उनको भनाई रहेको छ । सुदूरपश्चिममा प्रदेशमा ५७ प्रतिशत क्षयरोगका बिरामीहरु अझै पत्ता लगाउन नसकेको निर्देशनालयको तथ्यांक रहेको छ । ४३ प्रतिशत मात्र बिरामीहरु मात्र सम्पर्कमा रहेको जनाएको छ । प्राय क्षयरोगको संक्रमण ६५ बर्ष भन्दा माथिका व्यत्तिहरुमा देखिने गरेको स्वास्थ्यकर्मीहरुको अनुभव रहेको छ ।


यस्तै बरिष्ठ जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य कार्यालय प्रमुख रमेश कुँवरले व्यवस्थापन पक्ष केहि फितलो र आफुहरु त्यसमा चुकिरहँदा लक्ष्य अनुसारको काम हुन नसकेको बताए । उनले रहेक तहलाई सबैले प्रश्न गर्न आवश्यक रहेको औल्याए ।
प्रदेशमा क्षयरोगीको संख्या धेरै भएपनि परीक्षण गर्ने गर्न नसकेको स्वास्थ्यमर्कीहरुले नै स्वीकार गरेका छन । समुदायस्तरमा क्षयरोगीहरुले परीक्षणसमेत गर्ने गरेका छैनन् । स्थानीय तहहरुले रोगको पत्ता लगाउन विभिन्न स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको भए पनि प्राप्त भएको छैन् । प्रदेशमा क्षयरोगीको रोगको पहिचानसमेत नभएर मृत्यु हुँदै आएको छ ।
धनगढी उपमहानगरपालिकामा कार्यरत स्वाथ्यकर्मी कृष्ण पन्तले सबै क्षयरोगीको उपचार नभएको बताए । उनले लक्ष्य अनुसारको कामसमेत नभएको बताए । क्षयरोगीको पहिचान र उपचार निःशुल्क हुन्छ । प्रदेश सरकारले रोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । सुदूरपश्चिम प्रदेश भित्र क्षयरोगका कारण वर्षेनि ज्यान गुमाउनेको संख्या घट्न नसकेको तथ्यांक रहेको छ । विश्य क्षयरोग दिवसको अवसरमा स्वाथ्य कार्यालय कैलालीले धनगढीमा रहेको दृष्टी फाउण्डेशन र मानवसेवा आश्रममा रहेकाहरुको स्वास्थ्य समेत परीक्षण गर्ने भएको छ ।
स्वास्थ्यकर्मीका अनुसार क्षयरोग एक सरुवा रोग हो । जुन माइक्रोव्याक्टेरियम ट्युवरकुलोसिसले सुक्ष्म कीटाणुबाट लाग्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ । एकजना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने गर्दछ ।
नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण हुन् । हुन त क्षयरोगमा देखिने प्रारम्भिक लक्षण अन्य रोगमा पनि देखिन्छन् । तर दुई हप्ता भन्दा बढी लगातार खोकी लागिरहेमा भने खकार जाँच गरेर क्षयरोग हो कि होइन भन्ने थाहा पाउन सकिन्छ।
क्षयरोगको निदान औषधिबाटै हुन्छ । यसमा बिरामीले लामो समयसम्म औषधि खानुपर्ने हुन्छ । यसको औषधि देशभरका स्वास्थ्य केन्द्रमा निःशुल्क पाइन्छ । औषधि खाँदा खानेकुरा बार्नुपर्दैन ।

