

अत्तरिया- गोदावरी नगरपालिका अत्तरियामा रहेको सृजनशील युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण विभिन्न विधामा सिवाईसी स्पोर्ट्स लिग खेलहरु सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको सिवाईसी स्पोर्ट्स लिगको अन्तिम खेल फुटबल प्रतियोगिताको उपाधि सिवाईसी बुढीतोला जिरो पोइन्टले हात पारेको छ।


अन्तिम खेल सिवाईसी बुढीतोला जिरो पोइन्ट र सिवाईसी भल्का धाम बिच भएको थियो। अन्तिम खेलमा पहिलो गोल सिवाईसी बुढीतोलाका खेलाडी विष्णु कुंवरले हानेका थिए भने दोस्रो गोल सन्तोष कार्कीले हानेका थिए। यस्तै भल्का धामका खेलाडी सुबास चन्दले १ गोल फर्काएको थियो। सिवाईसी बुढीतोला २ गोल सिवाईसी भल्का धाम १ गोलमा पराजित भएको थियो। यस्तै फुटबल प्रतियोगिता खेल अवधि भरी उत्कृष्ट खेल प्रदर्शन गर्दै प्लेयर अफ दि सिरिज सन्तोष कार्की भएका थिए। भने कार्कीले प्रतियोगिता अवधि भरि ६ गोल हानेका थिए।


प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि वडा नं १ का वडाअध्यक्ष गोपालदत्त भट्ट रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष भट्टले खेलकुद राष्ट्रको पहिचान भएको बताउँदै क्लबले चालेको यस कदम सह्रानीय रहेको उल्लेख गरे। साथै, क्लबले सामाजिक कार्यहरूमा निरन्तरता दिँदै आएकोमा प्रशंसा व्यक्त गर्दै, नगरपालिकाको तर्फबाट मात्र नभई व्यक्तिगत रूपमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
स्थानीय स्तरमा यस्ता प्रतियोगिताहरूले खेलकुदको प्रवर्द्धन मात्र नभई युवाबीच आपसी मेलमिलाप र खेल भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने अध्यक्ष भट्टले बताए ।


फाल्गुन १९ गते देखि सञ्चालन भएको मैत्रीपूर्ण विभिन्न विधामा सिवाईसी स्पोर्ट्स लिग खेलहरु मध्ये क्रिकेट प्रतियोगितामा सिवाईसी हाटखोली गाजरी विजयी भएको थियो। भने भलीबल प्रतियोगितामा सिवाईसी लामीताल साथै फुटबल प्रतियोगितामा सिवाईसी बुढीतोला जिरो पोइन्ट विजयी भएको हो।
केही वर्षदेखि सञ्चालन गर्न नसकिएको खेललाई पुनः निरन्तरता दिन क्लबले यसै वर्षदेखि सक्रिय रूपमा खेल गतिविधि सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
खेलकुदमार्फत गोदावरी नगरपालिकाका पर्यटकीय क्षेत्रहरूलाई चिनाउने प्रयास भइरहेको साथै खेल क्षेत्रको प्रवर्द्धनसँगै पर्यटनको विकास गर्ने उद्देश्यले मैत्रीपूर्ण खेल प्रतियोगिता आयोजना गरिएको जनाएको छ। गोदावरी नगरपालिका भित्र खेलकुदको प्रवर्द्धन गर्दै पर्यटकीय स्थलहरूको प्रचार(प्रसार गर्ने उद्देश्यले विभिन्न खेल प्रतियोगिता आयोजना गरिएको थियो। पर्यटकीय स्थलहरुको प्रवर्द्धन अन्तर्गत सिवाईसी गोदावरी धाम, सिवाईसी हाटखोली गाजरी, सिवाईसी दोगडे फुलबस्ती, सिवाईसी लामिताल, सिवाईसी भल्का धाम, सिवाईसी बुढीतोला जिरो पोइन्ट, सिवाईसी नायल ताल, सिवाईसी मछेली खोला नामका टिमहरू खेलमा सहभागिता थियो।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सृजनशील युवा क्लब का पदाधिकारी, खेलाडी, स्थानीय समाजसेवी तथा नगरपालिकाको महत्वपूर्ण भूमिका रहेको थियो। प्रतियोगितामा २ लाख पुरस्कार राशि राखिएको थियो।
२०५८ सालमा स्थापना भएको क्लवले स्थापना काल देखि सामाजिक रुपमा सक्रिय भएर विभिन्न कार्यक्रम साथै स्थानीयहरुलाई उत्प्रेरित गर्नकालागि यस्ता मैत्रीपूर्ण खेलहरूको आयोजना गर्दै आइरहेको जनाएको छ । स्पोर्ट्स लिगमा मुख्य प्रबन्धक गोदावरी नगरपालिका रहेको साथै सह प्रायोजक निसर्ग हस्पिटल लगायतका प्रायोजकहरुको सहयोग रहेको थियो।

