बडेहा बिजौरा खानेपानी समितिले सल्लाहकार समिति गठन गर्यो, संयोजकमा पाठक चयन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका १ र ६ मा रहेको बडेहा बिजौरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले सल्लाहकार समिति गठन गरेको छ । समितिको चैत ५ गते बसेको बैठकले राजेश पाठकको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको जनाएको छ ।

नवगठित सल्लाहकार समितिका सदस्यहरुमा दिनेश कुमार शाह, देव बहादुर चन्द, कृष्ण बहादुर बलायर (केबी) र शेर बहादुर सार्की रहेका छन् ।

समितिको कामलाई थप प्रभावकारी र मार्गदर्शक बनाउन यो समिति गठन गरिएको समितिका अध्यक्ष चेतराज पन्तले बताएका छन् । साथै, बैठकले कानुनी सल्लाहकारको जिम्मेवारी दीपकराज जोशीलाई दिएको छ । अध्यक्ष पन्तका अनुसार, समितिका कार्यहरूलाई पारदर्शी, जवाफदेही र जनमुखी बनाउने उद्देश्यले समितिको विधान अनुसार आवश्यक पदहरूमा व्यक्तिहरू मनोनयन गरिएको हो ।

उक्त बैठकले सल्लाहकार समितिको सहयोगमा खानेपानी तथा सरसफाई सेवाको स्तरोन्नति, नियमित अनुगमन र उपभोक्तामैत्री सेवा प्रवाहमा विशेष ध्यान दिने निर्णय समेत गरेको छ ।

Loading...