सुदूरपश्चिममा विपन्न एवं बेरोजगारीलाई बिनाधितो कर्जा प्रवाह

धनगढी- सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषले स्वरोजगार व्यवसाय गर्न चाहने २ हजार ९ सय १६ विपन्न व्यक्तिलाई बिनाधितो ६० करोड २ लाख कर्जा प्रवाह गरेको छ । 

प्रदेश सरकार, आर्थिक मामिला मन्त्रालय मातहतको स्वरोजगार विकास कोषले सहकारी संस्था सँगको वित्तीय साझेदारी मार्फत कर्जा उपलब्ध गराउन थालेको हो ।

Navadurga sun

कोषका कार्यकारी निर्देशक चुडामणि तिम्सिनाले कोषबाट थोक कर्जा प्राप्त गरेका सहकारी मार्फत विपन्न व्यक्तिले बढीमा तीन लाखसम्म सहुलियत ब्याजदरमा खुद्रा कर्जा प्राप्त गरिरहेको बताए । 

कोषको कार्यक्रमको पहुँच प्रदेशभरिका सबै पालिका तहमा भने पुगेको छैन । ३७ स्थानीय तहमा कोषको पहुँच पुगेको छ ।

यी स्थानीय तहमा सञ्चालित ९९ सहकारीसँग वित्तीय साझेदारी गरेर कर्जा प्रवाह गरिरहेको छ । बाँकी ५१ स्थानीय तहमा कोषको पहुँच विस्तार गरी कर्जा प्रवाह गर्ने प्रयास भइरहेको छ । ‘कर्जा प्रवाहबाट विपन्न एवं बेरोजगार व्यक्ति ससानो व्यवसाय गरेर भए पनि स्वरोजगार भएको पाइएको छ’, निर्देशक तिम्सिनाले भने, ‘हरेक लक्षित समुदायमा कर्जा पुगेर उनीहरु स्वरोजगार बनून् भन्ने कोषको लक्ष्य छ ।’

वित्तीय संस्थाको पहुँचमा नपुगेको क्षेत्रका विपन्न एवं बेरोजगारले पनि कोष मार्फत कर्जा लिएर स्वरोजगारका व्यवसाय गर्न सक्ने जनाइएको छ । प्रवाह भएको कर्जाको असुली सम्बन्धित सहकारीले गर्ने जनाइएको छ । वि.सं. २०७९ पुस देखि कर्जा प्रवाह गर्न थालेको कोषले तोकिएको मापदण्ड पूरा गरेका सहकारीलाई मात्र थोक कर्जा प्रवाह गर्ने गरेको छ । 

दार्चुला, बझाङ र बाजुरा जिल्लाका स्थानीय तहका सहकारीका लागि २० देखि ३० लाख थोक कर्जा प्रवाह गर्ने मापदण्ड तोकिएको छ । बैतडी, डोटी, डडेलधुरा र अछामका स्थानीय तहका सहकारी संस्थाका लागि ३० देखि ५० लाखको थोक कर्जा दिन सकिने मापदण्ड निर्धारण गरिएको छ । 

कैलाली र कञ्चनपुरका सहकारी संस्थाका लागि ५० देखि ८० लाख कर्जाको सीमा तोकिएको छ । कोषबाट थोक कर्जा पाउन विभिन्न मापदण्ड तोकिएका छन् ।

कोषको बिनाधितो सहुलियत दरमा कर्जा पाउने समूहमा वैदेशिक रोजगारीबाट फर्किएका युवायुवती, नियमित अध्ययन छाडेका शैक्षिक बेरोजगार, उद्यम गर्न चाहेर पनि पूँजीको अभाव झेलेका, द्वन्द्व पीडित, आपङ्ग, घाइते, बेपत्ता तथा सहिद परिवार, एकल महिला, उत्पीडित जाति, जनजाति, लोपोन्मुख, पिछडिएको क्षेत्र तथा महिला, गरिबीको रेखामुनि रहेका व्यक्तिलाई राखिएको छ ।  रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...