कैलालीको घोडाघोडी सिमली जंगलमा विदेशी नागरिकको जमघटपछि रहस्यमय गतिविधि

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–९, सिमली जंगलमा पछिल्लो दुई सातादेखि रहस्यमय गतिविधि भइरहेका छन् । स्थानीय बासिन्दाका अनुसार, ‘रेन्बो ग्यादरिङ्ग’ नामको समूहले सिमली जंगलमा करिब सत्तरी जना विदेशी नागरिकलाई साथमा लिएर टेन्ट गाडेर बसेका छन् ।

स्थानीयहरूले यस समूहको गतिविधि शंकास्पद रहेको बताउँदै आएका छन् । उनीहरूका अनुसार, ती विदेशी नागरिकहरूले बाहिरी व्यक्तिहरूलाई आफूहरूको क्षेत्रमा प्रवेश गर्न दिँदैनन्, मोबाइल फोनको प्रयोगमा रोक लगाएका छन्, गाँजा सेवन गरिरहेका छन् र निर्वस्त्र भएर नाचगान लगायतका गतिविधि गरिरहेका छन् । घोडाघोडीको ओजुवा क्याफेका संचालक डबल शाहले उक्त विदेशी नागरिकहरुको समुहलाई सहजिकरण गरिरहेका छन् ।

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार, ती विदेशी नागरिकहरू दिनभर जंगलमा विभिन्न गतिविधिमा संलग्न रहन्छन् । उनीहरू बसिरहेको जंगल क्षेत्रमा मोबाइल फोनको प्रयोगमा पूर्ण रोक लगाइएको छ । उनीहरु गाँजा सेवन र अन्य लागूऔषधको प्रयोग गर्दै निर्वस्त्र भएर नाचगान तथा विभिन्न अनौठा गतिविधिहरू गरिरहेका हुन्छन् । यस किसिमका क्रियाकलापले स्थानीय समुदायका नागरिकहरू रनभुल्लमा छन् ।

विदेशी नागरिहरुलाई सहजीकरण तथा यी गतिविधीका लागि वातावरण बनाइरहेका रेन्वो फेमिलिका स्थानीय सम्पर्क ब्यक्ति डवल शाहले यो अनलाइनबाट तय हुने अनौपचारिक जमघट भएको बताए । उनले आफुहरुले लिखित रुपमा कतै बाट अनुमति नलिएपनि जानकारी गराएको जिकिर गरे ।

घोडाघोडी नगरपालिका क्षेत्रमा पर्ने जंगलमा भैरहेको गतिविधीलाई आफुहरुले अनुमती नदिएको नगरपालिकाका प्रमुख खडक रावतले बताए । उक्त समुह त्यहाँ आएर बसिसकेपछी भने जानकारी आफुहरुलाई आएको नगर प्रमुख रावतले बताए । अनुमति लिनुपर्ने निकायबाट अनुमति लिएरै नेपाल प्रवेश गरेको अनुमान आफुहरुले गरेको प्रमुख रावतको धारणा छ ।

जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रमुख गोगनबहादुर हमालले भने, हामीले यस घटनालाई गम्भीर रूपमा लिएका छौ। यदि कानुन उल्लंघन भएको पाइएमा तुरुन्त कानुनी कारबाही गरिनेछ ।’ प्रमुख जिल्ला अधिकारी हमालले विदेशी नागरिकहरु गलत मनसायले वा गैर कानुनी ढंगले प्रवेश गरी गैर कानुनी क्रियाकलापमा सहभागी भएको पाइएमा नेपालको कानुन अनुसार अध्यागमन विभागले समेत ती विदेशी नागरिकहरूको भिसा स्टेटस जाँच गर्ने उनीहरूले पर्यटक भिसाको दुरुपयोग गरेको पाइएमा, उनीहरूलाई नेपालबाट निष्कासन गर्न सकिने कानुन भएकोले सोही अनुसार हुने बताए ।

ईलाका प्रहरी कार्यालय सुखड कैलालीका प्रहरी प्रमुखका अनुसार, सिमली जंगलमा रहेका विदेशी नागरिकहरूको गतिविधिबारे जानकारी संकलन भइरहेको छ ।

Loading...