भजनी नगरपालिकाले विपन्न परिवारलाई सुरक्षित उच्च आवास निर्माण गर्ने

धनगढी- कैलालीको भजनी नगरपालिकाले विपन्न परिवारलाई सुरक्षित उच्च आवास निर्माण गर्ने भएको छ । नगरपालिकाले वडा नम्बर १ र ८ मा ४५ विपन्न परिवारका लागि सुरक्षित उच्च आवास निर्माण गर्ने भएको हो

यस अनुसार वडा नम्बर १ मा २५ वटा र वडा नम्बर ८ मा २० वटा सुरक्षित उच्च आवास निर्माण गरिने छ । बर्सेनि बाढी र डुबानको सास्ती खेप्दै आएका विपन्न परिवार सुरक्षित उच्च आवास निर्माण हुने भएपछि खुसी भएका छन् ।

वडा नम्बर ८ की सुशीला पाण्डे वर्षौँदेखिको बाढीको पीडाबाट छुटकारा पाउने आशामा छिन् । ’बर्सातको समयमा झण्डै दुई महिना हुलाकी सडकमा बास हुन्छ । डुबान कम भएर घर फर्किँदा कच्ची घर पुनः मर्मतसम्भार गरेर मात्र बस्न लायक हुन्छ’, उनी भन्छिन्, ’उच्च घर निर्माण भएपछि विगतको समस्याको सामना गर्नुपर्ने छैन । सुरक्षित छु भन्ने आभास हुनेछ ।’

सोही ठाउँकी शारदाकुमारी सुनार पनि सरकारले घर निर्माण गरिदिने भएपछि खुसी छिन् । वर्षौँ देखि कच्ची माटोको घरमा बस्दै आएको उनको परिवारले सुरक्षित आवास पाउन लागेको हो । ’विगतजस्तो समस्या अब आउने छैन । घरको खाद्यान्न बाढीले बगाउने छैन। घरका भाँडाकुँडा सुरक्षित रहनेछन्’, उनी भन्छिन्, ’बाढीको त्रासमा रातभर जाग्राम बस्नुपर्ने दिन मेरा लागि अन्त्य हुनेछन् ।

परिवारले सुरक्षित छु भन्ने आभास गर्नेछ।’ विपन्न परिवारका घर निर्माणका लागि ह्याविट्याट फर ह्युम्यानिटी नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय दलित नेटवर्क नेपालको प्राविधिक सहयोग रहने छ । आवास निर्माणका लागि प्रतिघर तीन लाख रूपैयाँ नगरपालिकाले व्यहोर्ने छ भने दुई लाख ५० हजार रूपैयाँ सहयोगी संस्थाले व्यहोर्ने छ । त्यसमा करिब एक लाख ६५ हजार रूपैयाँ लाभान्वित परिवारले बेहोर्नुपर्ने छ ।

वडा नम्बर ८ मा निर्माण हुने २० वटाको लागतमा सहयोगी संस्थाले प्रतिघर दुई लाख ६५ हजार रूपैयाँ लागत लाग्ने राष्ट्रिय दलित नेटवर्क नेपालका कार्यक्रम संयोजक चक्रबहादुर आग्रीले जानकारी दिए । सुरक्षित आवासअन्तर्गत निर्माण हुने घरमा दुईवटा कोठा रहने छन् । बाहिर बरण्डा रहने छभने शौचालय रहने छ ।

तर वडा नम्बर १ मा निर्माण हुने आवासमा एउटा भान्सा थप हुने कार्यक्रम संयोजक आग्रीले बताए । ’नगरपालिकाको समन्वयमा यस भन्दा पहिले पनि भजनीमा हामीले २६ वटा सुरक्षित आवास निर्माण गरेर हस्तान्तरण गरिसकेका छौँ’, उनले भन, ’चालु आर्थिक वर्षमा थप ४५ वटा आवासका लागि नगरपालिकासँग सम्झौता भइसकेको छ ।’

सम्झौताअनुसार आगामी असार २० गतेभित्र सबै घर निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । स्थानीय स्रोतले भ्याएसम्म बाढी प्रभावित, मुक्त कमैया, विपन्न दलित र एकल महिलालाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले आवास निर्माणको काम गर्दै आएको नगरप्रमुख केवल चौधरीको भनाइ छ । ’स्थानीय सरकार र गैरसरकारी संघसंस्थासँग समन्वय गरेर कैयौँ विपन्न वर्गका लागि हामीले आवास निर्माण गरेका छौँ र गरिरहेका छौँ’, उनी भन्छन्, ’सीमित स्रोतसाधनका बाबजुद पनि नागरिकलाई सरकार छ भन्ने अनुभूतिको प्रयास गरिरहेका छौँ ।’

नेटवर्कले भने कैलालीमा मात्र एक सय भन्दा बढी आवास निर्माणमा स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गरिसकेको छ ।

कैलाली र कञ्चनपुर गरी एक सय ६९ विपन्न परिवारका घर निर्माण भएको कार्यक्रम संयोजक आग्रीको भनाइ छ । उनका अनुसार कैलारी गाउँपालिकामा २७, घोडाघोडी नगरपालिकामा २२ र बर्दगोरिया गाउँपालिकामा १२ घर निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । रासस

Loading...