

अत्तरिया- सुदूरपश्चिम प्रदेशसभा बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ । १९ औं प्रदेशसभा बैठकमा उपस्थित प्रतिपक्षि दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदहरू उभिएर विरोध गरेपछि बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको हो ।




प्रतिपक्षी सम्पूर्ण दलको प्रतिनिधित्व गर्दै सभामुख भिम भण्डारीले नेकपा एसका प्रदेशसभा सदस्य नरेश शाहीलाई आफ्ना माग राख्न समय दिएको थियो ।


बैठकमा बोल्दै शाहीले सरकारलाई भार पर्नेगरी सरकारले अनावश्यक रूपमा गरेका प्रदेश निती तथा योजना आयोग लगायतका नियुक्तिहरू खारेज गर्नुपर्ने माग राख्नु भएको थियो ।
प्रतिपक्षी दलले अवरोध गरेको भन्दै सभामुखले सम्पूर्ण कार्यसूची बैठकबाट हटाएको जानकारी दिए । प्रदेशसभामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले केही उद्योग तथा वन सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक माथी सामान्य छलफल गर्ने कार्य सूचीमा राखिएको थियो ।

