एकीकृत प्रजनन स्वास्थ्य शिविरमा ९२ महिलाले लिए सेवा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. १२, कोल्मुडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित एकीकृत प्रजनन स्वास्थ्य शिविरमा ९२ महिलाले विभिन्न स्वास्थ्य सेवा लिएका छन् ।

गोदावरी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, गर्भवती महिलाहरूको अल्ट्रासाउन्ड परीक्षण, यौन रोग व्यवस्थापन लगायतका सेवाहरू प्रदान गरियो ।

शिविरमा ४२ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण, ६ जनाको पाठेघर खसेको व्यवस्थापन, ११ जना गर्भवती महिलाको अल्ट्रासाउन्ड जाँच तथा ६ जनालाई इम्प्लान्ट सेवा प्रदान गरिएको जनस्वास्थ्य निरीक्षक जनकराज अवस्थीले जानकारी दिए ।

शिविरमा गेटा अस्पतालका डाक्टर तथा नर्सिङ टिमले प्राविधिक सहयोग गरेको थियो भने डा. समिता पुनले स्वास्थ्य परीक्षण गरेकी थिइन् ।

गोदावरी नगरपालिकाका नगरप्रमुखले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए । उनले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न यस्ता शिविरहरूको निरन्तरता आवश्यक रहेको उल्लेख गरेका हुन् ।

Loading...