

अत्तरिया- कैलालीको अत्तरियामा रहेको सृजनशील युवा क्लबद्वारा आयोजित ‘स्पोर्ट्स लिग’ खेल उत्सव अन्तर्गत क्रिकेट प्रतियोगिताको उपाधि सिवाईसी हाटखोली गाजरीले उचाल्न सफल भएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सिवाईसी नायल ताल उपविजेता बन्न पुगेको हो ।




चौथो संस्करणको यस ‘स्पोर्ट्स लिग’ अन्तर्गत क्रिकेट, भलिबल र फुटबल खेल समावेश छन्, जसमा विभिन्न पर्यटकीय स्थलहरूका नाममा ८ टिम बनाइएको छ । ती टिमहरूमा सिवाईसी गोदावरी धाम, सिवाईसी हाटखोली गाजरी, सिवाईसी दोगडे फुलबस्ती, सिवाईसी लामिताल, सिवाईसी भल्का धाम, सिवाईसी बुढीतोला जिरो पोइन्ट, सिवाईसी नायल ताल, र सिवाईसी मछेली खोला रहेका छन् ।


क्रिकेट प्रतियोगिताको फाइनल खेल गोदावरी नगरपालिका वडा नं ३ स्थित चौकीडाँडा सामुदायिक बन खेलमैदानमा सम्पन्न भएको थियो । उपाधि विजेता सिवाईसी हाटखोली गाजरीले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्यो भने उपविजेता वनेको सिवाईसी नायल तालले २५ हजार रुपैयाँ प्राप्त गर्यो । साथै, प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई पनि विशेष पुरस्कारहरु प्रदान गरिनुका साथै प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
यस्तै, मंगलबार देखि भलिबल र फुटबल खेलको प्रतिस्पर्धा सुरु हुनेछ । यी खेलहरू क्लबकै खेलमैदानमा सञ्चालन गरिने छन् । आयोजक सृजनशील युवा क्लबले प्रतियोगिताका लागि २ लाख रुपैयाँ पुरस्कार राशि छुट्याएको जनाएको छ ।
मैत्रीपूर्ण प्रतिस्पर्धाका रूपमा आयोजना गरिने यस प्रतियोगितामा २ लाख रुपैयाँ बराबरको पुरस्कार राशि तोकिएको छ । २०५४ सालमा स्थापना भएको सृजनशील युवा क्लबले खेलकुद तथा सामाजिक गतिविधिहरूमा सक्रिय रहँदै आएको छ ।
स्थानीय खेलाडीहरूलाई प्रोत्साहित गर्दै खेलकुद प्रवर्द्धन तथा पर्यटन विकास गर्ने लक्ष्यसहित क्लबले आयोजना गरेको प्रतियोगिता चैत १ गते समापन गरिने भएको छ । ‘स्पोर्ट्स लिग’ प्रतियोगिता स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न र खेलकुद संस्कृतिलाई मजबुत बनाउन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

