सुदूरपश्चिम सरकारको झण्डै २० प्रतिशत मात्र खर्च प्रगति

सुदूरपश्चिम सरकारको खर्च प्रगति विवरण जम्मा २० प्रतिशत जति मात्रै रहेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को फागुन २० गते सम्म कुल बजेटको १९.९७ प्रतिशत खर्च भएको प्रदेश नियन्त्रक कार्यालयका प्रमुख यज्ञराज पाण्डेयले जानकारी दिए ।

चालु आर्थिक वर्षको फागुन सम्म चालु तर्फ ३०.८८ खर्च भएको छ । यस्तै पुँजीगत तर्फ २०.१५ प्रतिशत खर्च भएको विवरण लेखा नियन्त्रण कार्यालयसँग छ ।

कुल बजेट ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रहेको थियो । जसमा चालु तर्फ १२ अर्ब ८५ करोड ७४ लाख ०५ हजार र पुँजीगत तर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार मध्ये आर्थिक वर्षको अधिक समय सकिँदा पनि खर्चको प्रगति विगतका वर्षहरूको जस्तै न्यून रहेको छ ।

चालु आर्थिक वर्षमा पनि यसै गतिमा बजेट खर्चको दर जाने हो भने असारे विकासको खर्च अधिक हुने संकेत देखिएको छ । आर्थिक वर्ष सकिनै लाग्दा मात्रै खर्च एक्कासी बढ्ने प्रवृति विगतका वर्षहरूमा पनि अधिक रहेको देखिन्छ ।

अधिकांश प्रदेश गौरवका आयोजनाहरू अलपत्र पर्नुमा सरकारको बजेट खर्च गर्ने शैली पनि एक मुख्य भएको छ ।

हाल प्रदेशका अधिक विकास निर्माणका आयोजना बजेट अभावले समेत ठप्प भैरहँदा प्रदेश सरकारको बजेट खर्चको दर कछुवाको गतिमा गएकाले प्रदेश भरिकै विकासका कार्य पनि सुस्त गतिमा छन् भन्ने संकेत गर्छ ।

Loading...