कोल्ड स्टोर सञ्चालन नभएको प्रति सामाजिक विकास समितिको चासो

अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको विभिन्न जिल्लामा निर्माण गरेको कोल्ड स्टोर सञ्चालनमा नआएको प्रति संसदको सामाजिक विकास समितिले चासो दिएको छ ।

समितिले सबै कोल्ड स्टोरको अनुगमन पश्चात सञ्चालनमा नआउनुका कारण खोतल्न र सञ्चालनका लागि निर्देश गर्न चासो दिएको हो । बुधबार बसेको समितिको बैठकले कोल्ड स्टोर निर्माण प्रक्रियाका सम्पूर्ण कागजात पाँच दिनभित्र समितिमा पेस गर्न भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रदेश सरकारले निर्माण गरेका १३ वटा कोल्ड स्टोर मध्ये अधिकांश सञ्चालनमा नरहेको पाइएको समितिका सभापति धर्मराज पाठकले बताए ।

त्यसैगरी केही कोल्ड स्टोरहरूका निर्माण अधुरै छोडिएको जनाइएको छ । समितिले सबै कोल्ड स्टोरको अनुगमन गरेको थियो । अनुगमनका क्रममा १० वटा कोल्ड स्टोर सञ्चालनमा नरहेको पाइएको जनाइएको छ ।

सरकारले बनाएको कुनै पनि कोल्ड स्टोर सञ्चालनमा नरहेको पाइएपछि समितिले मन्त्रालयका निमित्त सचिव गोकुल बोहरा र कृषि विकास निर्देशनालयका निर्देशक खगेन्द्रप्रसाद शर्मालाई बैठकमा बोलाएर छलफल समेत गरेको छ ।

छलफल पछि समितिले कोल्ड स्टोर निर्माणको कार्यविधि, ठेक्का सम्झौता सहित सम्पूर्ण कागजपत्रहरू पेस गर्न निर्देशन दिएको हो । केही कोल्ड स्टोर निर्माणमा खर्च भएको रकम बेरुजुसमेत आएको देखिएकोले बेरुजुको विवरण समेत पेस गर्न निर्देशन दिइएको सभापति पाठकले बताए ।

Loading...