

नयाँ दिल्ली- भारतको झारखण्डमा केराउको एउटा दानाका कारण डेढ वर्षीय बालकको मृत्यु भएको छ।


कैरो थाना क्षेत्र अन्तर्गत गुडी करंज टोल निवासी कृषक खुदी उरांवका डेढ वर्षीय छोरा शिवम उरांवको बिहीबार मृत्यु भएको हो । खुदी र उनको परिवार बिहीबार बारीमा कामका लागि गएको थियो । सोही क्रममा उनीहरूले डेढ वर्षीय शिवमलाई पनि सँगै लगेका थिए ।




बच्चालाई भुल्याउनका लागि उनीहरूले आफ्नै बारीमा फलेको केराउ उखेलेर दिएका थिए । घर फर्किने क्रममा बच्चाले केराउको लहरो पनि सँगै ल्याएको थियो ।
केहीबेरमा बच्चा तड्पिन थाल्यो र परिवारका सदस्यले तत्काल अस्पताल लगे । तर चिकित्सकले बच्चाको मृत्यु भइसकेको घोषणा गरे ।
ती बालकले केराउको कोसाबाट दाना निकालेर खाने क्रममा श्वास नलीमा अड्किएर मृत्यु भएको चिकित्सकको भनाइ छ ।

