तारा एयरले टीकापुर बिमानस्थलबाट हप्तामा तीन उडान गर्ने

धनगढी- कैलालीको टीकापुर बिमानस्थलबाट तारा एयरले हप्तामा तीन उडान गर्ने भएको छ । यस अघि आइतवार र बिहीवार गरी दुई वटा व्यावसायिक उडान गरिसकेको तारा एयरले दुबै उडानमा यात्रुको माग बढेपछि मंगलबार समेत उडान भर्ने भएको हो । 

अब टीकापुर विमानस्थलबाट हप्तामा आइतवार, मंगलवार र बिहीवार नेपालगञ्ज हुँदै काठमाडौंको कनेक्टिङ उडान हुनेछ । टीकापुर नगरपालिकाले अबेर साँझ पत्रकार सम्मेलन गर्दै विमानस्थलबाट सातामा तीन वटा उडान हुने तय भएको जानकारी दिएको हो । 

Navadurga sun
Godawari sandesh

नगर प्रमुख रामलाल डगौरा थारुले यात्रुको दुईवटै उडानमा यात्रुले सिट नपाएर फिर्ता हुन थालेपछी तारा एयरले हप्तामा तीन उडान भर्ने तय भएको जानकारी दिए । 

‘पहिलो दिन सात जना टिकट नपाएर फिर्ता हुनुभयो, बिहीवार समेत चार जना फिर्ता हुनु भयो, धेरै जनाले टिकट मिलाई दिनु पर्यो भनेर फोन गरिरहेका छन्’ नगर प्रमुख थारुले भने ‘यात्रुको चाप देखेपछि तारा एयरले हप्तामा तीन दिन उडान गर्ने गरी तयारी गरिसकेको छ । अनुमति पाए यही मंगलबार समेत उडान हुनेछ ।’

Dadeldhura hospital

पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख थारुले तारा एयरले हवाई भाडादर समेत घटाएर उडान भर्ने जानकारी दिए । ‘अहिले ९ हजार रुपैयाँमा उडान हुँदै आएकोमा तारा एयरले अब टीकापुरदेखि काठमाडौंसम्म ८ हजार ५ शय रुपैयाँमा यात्रु ल्याउने लैजाने छ ।’ 

नगर प्रमुख थारुले हवाई जहाज सञ्चालनका लागि टीकापुर नगरपालिकाले १५ सिटको ग्यारेन्टी गरेको भए पनि आजसम्म कुनै पनि रकम हवाई भाडाका रुपमा खर्च नभएको बताए । ‘यात्रुलाई सिट नै पुगेको छैन, हामीले ग्यारेन्टी मात्रै बसेका हौं, कुनै रकम तिर्नु परेको छैन, यसले यहाँबाट दैनिक उडान हुन सक्ने संकेत गरेको छ’ पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख थारुले भने । 

२०५३ साल माघ महिनादेखि बन्द अवस्थामा रहेको एयरपोर्ट सञ्चालनका लागि यस क्षेत्रका बासिन्दाहरुले माग गर्दै आएका थिए । एयरपोर्ट सञ्चालन भएसँगै टीकापुर क्षेत्रको विकासमा एक इट्टा थपिएको बताउँदै व्यावसायी टीकाराम जैशीले सबैले हातेमालो गरे टीकापुरबाट दैनिक उडान सम्भव देखिएको बताए ।
‘यहाँको पर्यटकीय र व्यावसायिक विकासका लागि एयरपोर्ट सञ्चालन महत्वपूर्ण मुद्दा थियो, यसले यहाँको पर्यटन र व्यावसायिक विकासमा टेवा पुग्नेछ, त्यसका लागि हामी सबै यो क्षेत्रबासी एकजुट हुन आवश्यक छ ।’ 

टीकापुर नगरपालिकाको विशेष पहलमा काठमाडौंदेखि नेपालगञ्जसम्म यति एयरलाइन्स मार्फत र नेपालगञ्जबाट ‘कनेक्टिङ फ्लाइट’ मार्फत टीकापुर विमानस्थल सम्म तारा एयरले उडान व्यवस्थापन गरिएको हो । उक्त उडानको इसेवा, पथिल होलिडेज लगायतले टिकट उपलब्ध गराउँदै आएका छन् । 

विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ ।

Loading...