धनगढी- धनगढी उपमहानगरपालिकाले ५१ सामुदायिक विद्यालयमा ४ हजार ५ सय फलफूलका बिरुवा रोपेको छ ।



उपमहानगरले नगर क्षेत्रका ६८ सामुदायिक विद्यालय घेरवार अर्थात् पर्खाल भएका ५१ विद्यालयमा फलफूलका बिरुवा रोपेको हो । सामुदायिक विद्यालयमा यो वर्ष आँप र अम्बाको बिरुवा रोपिएको नगर प्रमुख गोपाल हमालले जनाएका छन् ।


उनले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले खान पाउन भनेर फलफूलको बिरुवा रोपेको बताएका छन् । “विद्यालयमा हरियाली प्रवर्द्धन गर्न तथा बालबालिकाको पोषणसमेत ध्यानमा राखेर बिरुवा रोपिएको हो,“ उनले भने, “विद्यालयहरूमा विद्यार्थीहरूले नै बिरुवा रोपेका छन्, हुर्काउने र गोडमेल गर्ने काम पनि उहाँहरूले नै गर्ने छन् भने खाने पनि विद्यार्थीहरूलाई नै दिइनेछ ।“
असारदेखि भदौसम्म सामुदायिक विद्यालयहरूको मागको आधारमा फलफूलको बिरुवा रोपिएको हो । विद्यालयहरूमा क्लब गठन गरेर बिरुवा रेखदेख र हुर्काउने जिम्मेवारी पनि विद्यार्थीहरूलाई नै दिइएको छ ।