पुलको काम दशकदेखि अलपत्र, डुङ्गामा जोखिम मोलेर नदी तर्दै स्थानीय

अत्तरिया, २६ साउन– कैलालीको कान्द्रा नदीमा पुल नहुँदा भजनी नगरपालिकाका बासिन्दा जोखिम मोलेर डुङ्गाबाट नदी तर्ने गरेका छन् । वर्खायाममा बाढीले उर्लने कान्द्रा नदी वारीपारी दुवैतिर बस्ती छन् । कामविशेषले वारीपारी गर्नुपर्ने स्थानीयलाई नदी तर्न डुङ्गाको भर पर्नुको विकल्प छैन ।

कान्द्रा पारी पर्ने वडा नम्बर ५ र ७ लाई अन्य वडासँग जोड्न नदीमा पुल छैन । त्यसैले जोखिम मोलेर डुङ्गाबाट नदी वारपार गर्नुपर्छ । त्यहाँ निर्माणाधीन पुल दशकदेखि अलपत्र छ । नदी पारीको बस्तीका बासिन्दालाई पुल नहुँदा बढी समस्या छ । भजनी बजार, नगरपालिका कार्यालय, स्वास्थ्य चौकी र कामविशेषले नगरका अन्य बस्तीमा जान उनीहरुले नदी तर्दा जोखिम मोल्नु पर्छ । बर्खायाममा दैनिक सयौँ सर्वसाधारणले डुङ्गाको जोखिमपूर्ण यात्रा गर्ने गरेका भजनी–५, लालबोझीका स्थानीय जोखनलाल चौधरीले बताए । ‘किनमेल गर्न भजनी बजार नपुगि हुँदैन । बिरामी हुँदा स्वास्थ्य चौकी जानै पर्यो ।’ चौधरीले भने, ‘बजार, अस्पताल सबै पारी छन् । नगरपालिका कार्यालय पनि उतै छ । कतिपयका खेतबारी उतै छन् । जोखिम भएर के गर्नु नदी वारपार गरिरहनु पर्छ ।’ वर्षाले नदीमा अत्यधिक बाढी आएको दिन डुङ्गा नचल्ने भएकाले आवतजावतनै बन्द हुने गर्छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यस्तो बेला बिरामी र अत्यावश्यक काम परेकाहरु मारमा पर्ने गर्छन् । नदीमा बढी बाढी आएको दिन वारीपारि थुनिएर बस्नुपर्ने बाध्यता रहेको स्थानीय कहरसिंह कडायतले बताए । बाढीले डुङ्गा नचल्दा कहिलेकाँही बिरामी, सुत्केरीलाई अस्पताल लैजान पनि समस्या हुने गरेको उनले बताए । ‘धेरै बाढी आउँदा थुनिएर बस्नुपर्छ, पारी जान सकिदैन ।’ कडायतले भने, ‘त्यस्तो बेला बिरामीलाई पनि अस्पताल लैजान पाउँदैनौँ ।’ डुङ्गाबाट दैनिक नदी तरेर विद्यार्थीले विद्यालय र क्याम्पस आउजाउ गर्छन् । बाढी आएको दिन उनीहरु विद्यालय जान पाउँदैनन् । डुङ्गामा डरैडरले नदी तर्ने गरेको स्थानीय बताउँछन्। डुङ्गा पल्टन सक्ने भएकाले नदी तर्दा जहिल्यै जोखिम मोल्नु परेको अर्का स्थानीय चम्पालाल डगौराले बताए। बालबालिका, महिला र वृद्धवृद्धालाई डुङ्गाको यात्रा अझ बढी जोखिमपूर्ण हुने गरेको उनले बताए ।बर्खायामका तीन महिना नदी तर्न जोखिम र सास्ती हुने गरेको भजनी– ५ का वडाध्यक्ष केशवबहादुर बुढाले बताए । दैनिक ओहोरदोहोर गरिरहनु पर्ने भएकाले विद्यार्थी बढी जोखिममा रहेका बताए ।

विद्यालयका गएका बालबालिका बेलुकी घर नपुग्दासम्म अभिभावक चिन्तित हुने गरेका उनले बताए । ‘डुङ्गाको यात्रा जोखिमपूर्णनै हो । कतिबेला के पो हुन्छ भन्ने डरैडरले तर्नुपर्छ ।’ बुढाले भने । पुल नहुँदा नदी पारीका दुई वडाका करिब दुई हजार दुई सय घरधुरीलाई सबैभन्दा बढी समस्या रहेको उनले बताए । डुङ्गाको सहारामा नदी तर्दाको जोखिम त छँदैछ, नदी तर्दा पैसा तिर्नुपर्ने बाध्यता पनि छ । लालबोझीको दुई ठाउँमा डुङ्गा चल्छ । एक ठाउँमा नदी तारेको पैसा उठाउन नगरपालिकाले ठेक्का लगाएको छ ।

अर्को ठाउँमा स्थानीयले डुङ्गा चलाउने गर्छन् ।डुङ्गामा एक पटक नदी तरेको दश रुपैयाँ र मोटरसाइकलसहित भए ३० रुपैयाँ शुल्क तोकिएको छ । ठेकेदारले अझ बढी शुल्क लिने गरेका स्थानीयले बताएका छन् । बर्खा सकिएपछि भने नदीमा पानीको सतह घट्ने भएकाले ठेकेदारले सानो काठको पुल राख्छन् । काठेपुलबाट नदी तरेको पनि ठेकेदारले पैसा असुल्छन् ।

Loading...