आज तुलसी रोप्ने दिन हरिशयनी एकादशी

अत्तरिया- आषाढ शुक्ल एकादशी अर्थात् बुधबार हरिशयनी एकादशी । सनातन धर्मावलम्बी आँगनमा तुलसी रोपण गर्दैछन् । बुधबार ३१‍‍.४५ घडीपला एकादशी तिथि रहेको पञ्चाङ्गमा उल्लेख छ ।
एक महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ ।

आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णु प्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसी विवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ।

Navadurga sun

आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यता स्वरूप चार महिनासम्म विशेष मांगलिक कार्य गरिँदैन। यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत–उपवास र पूजापाठलाई महत्त्व दिइन्छ। यसैगरी यो अवधिमा पर्ने आठ एकादशीलाई विशेष रूपमा लिइन्छ।

वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्त्व दिइन्छ। वैष्णव धर्म लिएकाहरूले एकादशीलाई विशेष महत्त्व दिए पनि स्मृति मान्नेहरूले यसलाई सामान्य किसिमले मनाउँछन्। चतुर्मासका एकादशीमा काठमाडौं उपत्यकाका चार नारायण र बूढानीलकण्ठ मन्दिरमा घुइँचो लाग्छ।

आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको उपयोग गरिन्छ। धेरै अक्सिजन फ्याँक्ने वनस्पतिका रूपमा तुलसीको महत्त्व छ। त्यसैले पनि तुलसी रोप्ने दिनलाई सनातन धर्मावलम्बी विशेष मान्छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...